दुखाई बिर्सिएर सात स्वर्ण जित्ने राजु

नेपालगञ्ज । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत एपिएफका राजु राईले जिम्न्यास्टिकमा सात स्वर्ण पदक जित्दै नयाँ रेकर्ड बनाउन सफल भएका छन् । 

सोमवार सम्पन्न भएको पुरुषतर्फको एक स्पर्धाबाहेक सबैमा राईले स्वर्ण पदक जिते । उनले अलराउण्डर र टिमतर्फ गरी सात स्वर्ण पदक जिते । उनले फ्लोर, पोमेल हड्स, रोमन रिङ, पालरबार र हाइबारमा क्याटोगरीमा स्वर्ण पदक जित्दा भल्टिङ टेबल क्याटोगरीमा मात्र उनले एक रजत पदकमा चित्त बुझाए ।

प्रतियोगिताका दौरान उनी घाइते भए। तर, पनि उनले चोटको कुनै प्रवाह नगरि उत्कृष्ट प्रर्दशन गरिरहे र अन्त्यमा सात स्वर्ण सहित आठ पदक आफ्नो पोल्टामा पारे । 

उनले भने, ‘खेलका दौरान मेरो शरिरको ब्यालेन्स नमिल्दा म घाइते भए, तर मेडिकल टिमबाट प्राथमिक उपचार पाएपछि पुनः खेलमा फर्किए ।’ 

साथै उनले घाइते भएपछि खेल खेल्न निक्कै गाह्रो भएको बताए । ‘मलाई निक्कै गाह्रो भएको थियो, तर मैले सबै दुखाईलाई दवाएर यो सफलता हात पारे’, उनले बताए । 

विंस २०७० सालदेखि जिम्न्यास्टिक खेल्न थालेका उनले छोटो समयमा नै यति धेरै सफलता हात पारेका छन् । उनले शुरुवाती समयमा लुम्बिनी गेममा प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला उनले पाँच स्वर्ण र दुई रजत पदक जित्दै सबैलाई चकित बनाएका थिए ।

१४ वर्षको उमेरदेखि जिम्न्यास्टिक खेलेका राईले पूवाञ्चलमा सम्पन्न सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सात स्वर्ण र एक रजत पदक जितेको थियो । 

उनले दुख मान्दै भने, ‘घाइते भएका कारणले मैले एउटा स्पर्धामा स्वर्ण जित्न सकेन् ।’

राजुले फ्लोर इभेन्ट्समा स्वर्ण पदक हात पारे । त्यस्तै एपीएफकै दिनेश सुनुवारले रजत तथा प्रदेश ३ का उज्वल तिवारीले कास्य पदक जितेका थिए । 

यता पोमेल हर्समा राजुले स्वर्ण पदक हात पार्दा एपीएफकै रिकेश तामाङले रजत पदक तथा प्रदेश ३ का त्रिवेद गिरीले कास्य पदक जिते । पार्लर बारमा पनि पनि राजुले स्वर्ण पदक नै जितेका थिए । यस स्पर्धामा प्रदेश ३ का सत्यनारायण मानन्धरले रजत तथा प्रदेश ७ का जितेन्द्र चौधरीले कास्य पदक प्राप्त गरे । 

अलराउन्डरतर्फ पनि राजुले स्वर्ण पदक नै प्राप्त गरे । प्रदेश ३ का सत्यनारायण मानन्धरले रजततथा  एपीएफक बिष्णु बाटाले कास्य पदक हात पारे । 
 प्रदेश ३ का उज्वल तिवारीले भल्तिङमा स्वर्ण पदक जिते । त्यस्तै  राजुले रजत र प्रदेश ३ का त्रिवेद गिरीले कास्य पदक प्राप्त गरे । 

त्यसैगरि महिला फ्लोरमा एपीएफकी पिंकी झाङले स्वर्ण जित्दा  प्रदेश ३ कि तारा शिवाकोटीले रजत र आर्मीकी बिदिशा न्यौपानेले कास्य पदक हात पारिन् । भल्तिङमा पनि पिंकी झाङले नै स्वर्ण पदक हात पारिन् । त्यस्तै प्रदेश ३ कि तारा शिवाकोटीले रजत र आर्मीकी बिदिशा न्यौपानेले कास्य पदक हात पारिन् । 

महिला अलराउन्डरमा प्रदेश ३ कि तारा शिवाकोटीले स्वर्ण, एपीएफकी लुमिला मानन्धरले रजत र प्रदेश ३ कि प्रकृति थापा मगरले कास्य पदक जितिन् ।

टिम स्पर्धाको पुरुषमा एपीएफले स्वर्ण, प्रदेश ३ ले रजत तथा प्रदेश ७ ले कास्य पदक जित्यो । त्यस्तै महिलातर्फ प्रदेश ३ ले स्वर्ण पदक, एपीएफले रजत र प्रदेश ५ ले कास्य पदक प्राप्त ग-यो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?