वैद्यले गरे साना ४ कम्युनिष्ट घटकसँग कार्यगत एकता, वैशाख २७ गते संयुक्त विरोधसभा

काठमाडौं । मोहन वैद्य (किरण) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले चार साना कम्युनिष्ट घटकसँग एकता प्रक्रिया अघि बढाएको छ ।  

वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) र सुलभ नेतृत्वको अर्को नेपाल कम्युनिष्ट दलले कार्यगत एकता गरेर अघि बढ्ने सहमति गरेका हुन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न मुद्दामा राष्ट्रघात तथा जनघात गरेको निष्कर्ष निकाल्दै त्यसविरुद्ध लड्न वैद्य नेतृत्वसहित चार कम्युनिष्ट दलले कार्यगत एकता गरेका हुन् । 

कार्यगत एकताको सहमति पत्रमा सीपी गजुरेल नेतृत्वको देशभक्त जनतान्त्रिक मोर्चा पनि सहभागी छ ।

तर, गजुरेल नेतृत्वको यो समूह भने दल नभएर मोर्चा हो । 

गजुरेल, वैद्य नेतृत्वकै नेकपा (क्रान्तिकारी माओवादी)का नेता हुन् ।

साथै यही वैशाख २७ गते काठमाडौंको शान्तिबाटिकामा संयुक्त विरोधसभासमेत निर्णय गरेका छन् ।

विभिन्न मुद्दामा कार्यगत एकताको घोषणा गरेका ४ दलले सरकारको ध्यानाकर्षणका लागि भन्दै संयुक्त विरोधसभा गर्ने भएका हुन्  । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?