नेपालको लगातार दोस्रो जित, मलेसिया स्तब्ध

काठमाडौं । थाइल्याण्डमा जारी एसिसी यू-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले विजयी यात्रालाई जारी राखेको छ । 

थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा भएको आज ‘बुधवार’ भएको खेलमा नेपालले मलेशियालाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो । नेपालले यसअघि शनिवार भएको पहिलो खेलमा म्यानमारलाई सात विकेटले पराजित गरेको थियो । 

जितसँगै समूह ‘ए’ मा रहेको नेपालले दुई खेलबाट चार अङ्क जोडेको छ । नेपाल साविक विजेता समेत हो । अघिल्लो संस्करणको खेलमा नेपालले सिङ्गापुरलाई ७१ रनले पराजित गर्दै उपाधि हासिल गरेको थियो । 

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले मलेशियालाई जितका लािग १ सय ४२ रनको लक्ष्य दिएको थियो । जवाफमा मलेशिया ३३ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १ सय २ रनमा समेटियोको थियो । 

मलेशियाका लागि सार्भिन सुरेद्रनले सर्वाधिक ४६ रनको योगदान दिए भने अमहेद अस्यार्फले १७ तथा किशन कुमारले ११ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न  सकेनन् । 

मलेशियालाई १ सय २ रनमा समेट्ने क्रममा नेपालका रमेश कुर्मी, तिलकराज भण्डारी र प्रशान्त महतले दुई-दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३४ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १ सय ४१ रन जोडेको थियो ।

नेपालका लागि आशिष भट्टराईले सर्वाधिक ३४ रनको योगदान दिए । त्यस्तै विशालविक्रम केसीले २८, दीपक बोहोरा र अर्जुन कुमालले समान १६÷१६ र सुवास ऐरले ११ रन जोडे ।
    
बलिङतर्फ मलेशियाका सिद्धार्थ कार्तिकले चार तथा लुकम्यान नुर हाकिम सहरले दुई विकेट झारे । नेपालले अब भोलि ‘बिहीवा’ आयोजक थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?