मदिराले धानेको राजश्व

चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरमा सङ्कलन हुने राजश्वको अधिकांश हिस्सा मदिराले धान्ने गरेको छ । चितवन र नवलपुर जिल्ला हेर्ने यस कार्यालयमा सङ्कलन हुने राजश्वको ८७ प्रतिशत हाराहारी वियर र मदिराको हुने गरेको छ ।

कार्यालयका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म सङ्कलन भएको कूल राजश्व २० अर्ब चार करोड ७० लाख ८६ हजारमध्ये १७ अर्ब ६७ करोड ९३ लाख ४१ हजार अन्तःशुल्कको रहेको छ ।

कार्यालयका सूचना अधिकारी धनेश्वर अर्यालका अनुसार वियर र मदिराबाहेक कोकाकोला, साबुन, सरफ, सुर्ती, रङ्गलगायतको एक प्रतिशत हुने भए पनि अरु सबै अन्तःशुल्क मदिराजन्य पदार्थको हो । ती उद्योगले मूल्य अभिवृद्धि कर, आयकरलगायतको राजश्व ठूला करदाता कार्यालयमा तिर्दै आएका छन् ।
 
गत आर्थिक वर्षको चैत महीनासम्ममा सो कार्यालयले १४ अर्ब ४२ करोड ७५ लाख राजश्व सङ्कलन गरेकामा १२ अर्ब ४१ करोड १६ लाख अन्तःशुल्कको रहेको थियो । अर्यालका अनुसार चितवनमा तीन वियर उद्योग छन् भने नवलपुरमा दुई रहेका छन् ।

त्यसैगरी तीन मदिरा उद्योग चितवनमा छन् भने चार नवलपुरमा रहेका छन् ।

कूल सङ्कलन भएको अन्तःशुल्कमध्ये मदिराको भन्दा वियरको बढी हुने गरेको अर्यालले बताए । नेपालमा नै वियरमा सबैभन्दा बढी अन्तःशुल्क तिर्ने गोर्खाब्रुअरी यसै कार्यालयअन्तर्गत पर्दछ । त्यसैगरी यति, माउण्ट एभरेष्ट, शेर्पा र सिजी ब्रुअरीले यसै कार्यालयमा अन्तःशुल्क बुझाउँदै आएका छन् । 

मदिरातर्फ यति, मनकामना, देवचुली, श्री, युनाइटेड, सुमी र रोलिङ लिभर डिस्टिलरी यसै कार्यालयको क्षेत्राधिकारभित्र पर्दछ । ती कार्यालयले अन्तःशुल्क यहाँ बुझाउँछन् भने अन्य कर ठूला करदाता कार्यालयमा बुझाउने गर्दछन् ।

कार्यालयका प्रमुख सुवप्रसाद रिजाल अन्तःशुल्कको रकम ठूलो हुँदा अन्य क्षेत्रको राजश्व कम देखिएको भए पनि बढ्दो मात्रामा रहेको बताए । मदिराजन्य उद्योगले अन्तःशुल्क बढाउँदै लगेको बताउँदै उनले अन्य क्षेत्रको राजश्व पनि वार्षिक २० प्रतिशतभन्दा बढ्दो क्रममा रहेको बताए । 

कार्यालय दायरा फराकिलो पारेर राजश्व बढाउने अभियानमा लागिपरेको उनले बताए । देशकै मध्यभाग भएकाले ढुवानीका लागि सहज हुने हुँदा मदिराजन्य उद्योगसँगै अन्य उद्योग खोल्नका लागि यस क्षेत्र उपयुक्त देखिएको छ । मदिराजन्य र अन्य उद्योग खुल्ने क्रम पनि जारी रहेको रिजालले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?