विनाशकारी भूकम्पको चार वर्ष : एक हजार १ सय ८७ पटक भूकम्प धक्का महशुस

काठमाडौं । आज (बिहीवार) विनाशकारी भूकम्प गाएको चार वर्ष पूरा भएको छ । विं.स २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको ७ दशमलब ६ म्याग्निच्युटको भूकम्पको आज चार वर्ष पुगेको हो । 

सो भूकम्पमा परी करिब ९ हजार जनाको ज्यान गएको थियो । हजारौँ मानिस घाइते भएका थिए । 

भूकम्प गएको चार वर्षको अवधिमा ७ म्याग्निच्युटमाथिको धक्का एक पटक महशुस गरिएको छ । यसभ्दा कमका तीन ठूला भूकम्प गइरहेको छ । 

त्यस्तै ६ दशमलव ५ म्याग्निच्युटभन्दा कम र ४ म्याग्निच्युटका पराकम्प १ हजार १ सय ८७ पटक गइसकेको रेकर्ड भूकम्प मापन केन्द्रले जनाएको छ । 

साथै ४ म्याग्निच्युटभन्दा कमको ४६ हजारभन्दा बढी गइसकेको जनाइएको छ । तर, पनि पटक–पटक निरन्तर भूकम्पको धक्का किन महशुस भइरहेको छ ?

महाविनाशकारी भूकम्प भएको चार वर्ष पुुग्नु एक दिन अगाडी आइतवार बिहान ६ः२९ मा धादिङ केन्द्रबिन्दु भएको ५ दशमलव १ म्याग्निच्युटको भूकम्पले नेपालको मध्य भू–भागलाई हल्लायो । 

भूकम्पको चार वर्ष पुग्नु एक दिन अघिको यो धक्काले नेपाल भूकम्पीय जोखिमको क्षेत्र भनेर पुन एक पटक सम्झाएको छ । 

गोरखा भूकम्पपछि दोलखा, सिन्धुपालचोक, गोरखा, काठमाडौं, रसुवालगायतका क्षेत्रमा सबैभन्दा बढी पराकम्पन महशुस गरिएको छ । यद्यपी यो अहिले पनि निरन्तर छ । 

भूकम्प गएको ४ वर्षमा भक्तपुरमा जम्मा ३० प्रतिशत भूकम्पपीडितले मात्र पुनर्निर्माण गरेको तथ्यांक छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रमाणित गरेको २८ हजार ३ सय ८ लाभग्राही (भूकम्पपीडित) मध्ये २४ हजार ३ सय ४७ भूकम्पपीडितले निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता गरी पहिलो किस्ता लिएका छन् । तर, अनुदान सम्झौता गरेका ७ हजार २ सय ५ अर्थात् ३० प्रतिशत लाभग्राहीले मात्र पुनर्निर्माण गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भक्तपुर (जीएमएएलआई)को तथ्यांकमा उल्लेख छ । 

यसैगरी निजी आवासदेखि भूकम्पले भत्काएका हरेक क्षेत्रमा पुनर्निर्माणको क्रम अहिलेपनि जारी छ । 

भूकम्प भएको चार वर्षको अवधिमा ३ लाख ८२ हजार निजी आवास बनेका छन् भने २ लाख ३० हजारभन्दा बढी निर्माणको क्रममा छन् । 

यसक्रममा विद्यालय भवन, स्वास्थ्य केन्द्र, सरकारी भवन, सुरक्षा निकायका भवन, पुरातात्विक र सांस्कृतिक सम्पदाको पुनर्निर्माण तीव्ररुपमा अगाडी बढीरहेको छ । 

यसैबीच पुनर्निर्माण प्राधिकरणले आज भूकम्पको चौंथो स्मृति दिवस मनाउँदैछ । 

प्राधिकरणकाका अनुसार पुनर्निर्माणको क्रममा रहेका काठमाडौं उपत्यकाका विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन गर्नुका साथै भूकम्पको केन्द्रविन्दु गोरखाको बारवाकसहित प्रभावित क्षेत्रहरुमा प्राधिकरणले सचेतना कार्यक्रमको आयोजना गर्दैछ । 

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा काठमाडौंको हनुमानढोकामा आज बिहान ११ः५६ मिनेटमा भूकम्पमा ज्यान गुमाएकाको सम्झानामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?