‘आइपीएल’ क्रिकेटमा रोयल च्यालेन्जर्सद्वारा पन्जाव पराजित

एजेन्सी । जारी इन्डियन प्रिमियर लिग ‘आइपीएल’ क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ । 

चिन्ना स्वामी स्टेडियममा बुधवार राति सम्पन्न भएको खेलमा रोयल च्यालेन्सर्जले किंग्स इलाभेन पन्जावलाई १७ रनले पराजित गरेको हो । दुई सय ३ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको पन्जावको पारी २० ओभरमा सात विकेटको क्षतिमा मात्र एक सय ८५ रनमा समेटिएको थियो ।

पन्जावका लागि निकोलस पुरनले ४६ रन, ओपनर केएल राहुलले ४२ रन, क्रिस गेलले २३ रन, मायंक अग्रवालले ३५ रन तथा डेविड मिलरले २४ रन बनाए । यता बैंगलोरमा उमेश यादवले तीन, नन्दीप सैनीले दुई तथा मार्कस स्टोइनिस र मोइन अलीले समान एक एक विकेट हात पारे । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै दुई सय दुई रनको योगफल तयार पारेको थियो । बैंगलोरका लागि एवी डी भिलियर्स अविजित ८२ रन बनाए ।

मार्कुस स्टोनिसले अविजित ४६ र पृथ्वी पटेलले ४३ र कप्तान विराट कोहली १३ रन बनाए । बलिङमा पन्जाबका मोहमद शामी, रविचन्द्र आश्विन, मुरुगान आश्विन र हार्डस विलोजेनले समान एक-एक विकेट लिए ।

यो जितपछि बैंगलोर लिगको सातौं स्थानमा उक्लिएको छ । बैंगलोरले ११ खेलबाट आठ अंक बनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?