‘एसीसी’ यू-१६ क्रिकेट :  नेपालले थाइल्याण्डको सामना गर्दै

काठमाडौं । एशियाली क्रिकेट काउन्सिल ‘एसीसी’ यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले आयोजक राष्ट्र थाइल्याण्डको सामना गरिरहेको छ । 

थाइल्याण्डको चियाङमाईमा आयोजकविरुद्ध नेपालले टस जितेको छ र पहिले ब्याटिङ रोजेको छ । शुरुवाती दुई खेलमा जित निकालेको नेपालले समूह चरणको अन्तिम खेलमा आयोजक थाइल्याण्डसँग भिड्दैछ ।

आयोजकविरुद्ध मैदानमा उत्रँदा नेपाल शतप्रतिशत जितको खोजीमा हुनेछ ।

नेपालले पहिलो खेलमा म्यानमारलाई सात विकेटले पराजित गरेको थियो । त्यस्तै हिजो ‘बुधवार’ भएको दोस्रो खेलमा नेपालले मलेशियालाई ३९ रनले पराजित गरेको थियो । समूह ‘ए’ मा रहेको नेपालले दुई खेलबाट चार अङ्क जोड्दै शीर्ष स्थानमा छ ।

सेमिफाइनल यात्रा लगभग पक्का गरिसकेको नेपाल समूह विजेताको दौडमा रहेको छ । आयोजकलाई हराउन सके नेपाल समूह विजेता बन्नेछ ।

यता आयोजक थाइल्याण्ड नेपाललाई रोक्दै सेमिफाइनल यात्रा तय गर्न चाहन्छ । समूहको तेस्रो स्थानमा रहेको थाइल्याण्डले दुई अङ्क जोडेको छ । नेपाललाई फराकिलो अन्तरले पराजित गरेमा थाइल्याण्डको सेमिफाइनल पुग्ने सम्भावना रहन्छ ।

यसै समूहको अर्को खेलमा मलेशियाले म्यानमारको सामना गर्नेछ । मलेशिया ४ अङ्क जोडेर दोस्रो र अङ्कविहीन म्यानमार भने अन्तिम स्थानमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?