काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पदाधिकारी समितिको बैठक आज (बिहीवार) पनि जारी छ ।
बैठक पार्टी कार्यालय बबरमहलमा बिहान ११ बजेको लागि बोलाइएको हो । वैशाख ८, ९ र १० गते तीन दिनमा सक्ने भनिएपनि पहिलो दिन शोक प्रस्ताव पारित गरेर स्थगित भएको बैठक दोस्रो दिन अध्यक्ष मण्डलका नेताको धारणामा केन्द्रीत भएको थियो ।
बैठकमा महाधिवेशन र नेतृत्वको कार्यशैलीको विषयलाई लिएर तीव्र आलोचना भएको छ ।
पदाधिकारी बैठकमा बोल्ने नेताले पार्टी एकता भएको दुई वर्ष बितिसक्दा पनि महाधिवेशन गराउन नसकेको भन्दै नेतृत्वको तीव्र आलोचना गरेका हुन् ।
हिजोसम्मको बैठकमा अध्यक्ष मण्डलका नेता बाहेक ४० जनाले आ–आफ्नो धारणा राखिसकेका छन् ।
धारणा राख्ने अधिकांश नेताले महधिवेशनको मिति तत्काल घोषणा गर्न र पार्टीका आगामी कार्यक्रम तय गर्न नेतृत्वको ध्यानाकर्षण गराएको राजपाका महामन्त्री केशव झाले जानकारी दिए ।
आफूहरुले उठाएका माग सम्बोधन गर्न सरकारले पटक पटक सहमति गरेपनि उदासिनता देखाएकाले संघर्षका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव पनि पदाधिकारीले दिएका छन् ।
बैठक आजसम्म चल्ने महामन्त्री झाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया