गृहमन्त्रीद्वारा विप्लवलाई मूलधारको राजनीतिमा आउन आग्रह

विराटनगर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव समूहको गतिविधि निस्तेज पार्न सरकार सफल भएको दाबी गरेका छन् । 

प्रदेश १ मा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले विप्लव समूहलाई  मूलधारको राजनीतिमा ल्याउने प्रयासमा सरकार लागिरहेको पनि जानकारी दिए । उनले भने, ‘विप्लव समूहको गतिविधि निस्तेज भएको छ, यसलाई पूर्ण निस्तेज पार्न सरकारले नीतिहरु अख्तियार गरेको छ ।’ 

साथै उनले विप्लव समस्याको समाधान सरकारले वार्ता र संवादबाटै गर्न चाहेको पनि बताए । 

‘विखण्डनकारी शक्ति ‘सीके राउत’ लाई समेत हामीले वार्ता र संवादबाटै मूलधारको राजनीतिमा अवतरण गराइसकेका छौँ, विप्लवजी पनि अब वार्तामा आउनुपर्छ’, उनले थपे । गृहमन्त्री थापाका अनुसार विप्लव समूहले विध्वंशकारी गतिविधि गरेकाले सरकारले नियन्त्रणमा लिएको पनि जानकारी दिए । 

उनले भने, ‘जुन सुकै उद्देश्य बोकेका राजनीतिक दललाई शान्तिपुर्ण आन्दोलन गर्ने छुट छ, तर शान्ति सुरक्षामा खलल पुर्‍याउने छुट कसैलाई छैन ।’ 

त्यस्तै उनले राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्बन्ध सुधारमा पनि सरकार सफल भएको दाबी समेत गरे । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?