चार वर्षमा पाँच ग्रामीण सडकको ६१ दशमलब ९ किमी पुनःनिर्माण

काठमाडौं । भूकम्पले क्षतिग्रस्त पाँच ग्रामीण सडकको ६१ दशमलब ९ किमी पुनःनिर्माण सम्पन्न भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाई ‘अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार’ ले जनाएको छ ।

निर्माण सम्पन्न भएका सडकमा भक्तपुरको तेलकोट–घट्टेडाँडा ७।६ किमी, ललितपुरको ठैब–गोदामचौर २ दशमलब ६ किमी, काभ्रेपलाञ्चोकको खोपासी–ढुँगखर्क १४ किमी, दोलखाको सुनखानी–साङ्बा २७ दशमलब ४ किमी र काठमाडौँको साँखु–पालुवारी–नगरकोटको १० दशमलब १ किमीको काम सकिएको हो ।

पाँचवटै सडक आयोजना पुनःनिर्माणका लागि एशियाली विकास बैंक ‘एडीबी’ को सहुलियत ऋण सहयोग रहेको एकाईका आयोजना उपनिर्देशक वरिष्ठ डिभिजनल इञ्जिनीयर अमृत श्रेष्ठले जानकारी दिए । 

भूकम्पले क्षति पुगेका थप १२ सडक आयोजना पुनःनिर्माणका लागि एडीबीले सहयोग  गरेको छ । बाह्र सडक आयोजनाको ३ सय १ किमीको काम चालू आवमा सकिने गरी भइरहेको जनाइएको छ । भूकम्पले क्षति भएको २४ सडक आयोजनाको ३४९ किमी सरकार आफैँले पुनःनिर्माण गर्ने उनले सुनाए । 

गोरखा भूकम्पले ८३ ग्रामीण सडकको एक हजार ५१ किमीमा क्षति पु-याएको थियो । ३८ वटा सडक आयोजनाको ७ सय ७ किमी पुनःनिर्माण जारी रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

भूकम्पले क्षति भएका ४२ सडकको ३ सय १६ किमीको काम शुरु हुन बाँकी रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए ।  चालू आर्थिक वर्षमा भूकम्पले भत्किएका ६० प्रतिशत सडक पुनःनिर्माण सक्ने प्राधिकरणको लक्ष्य छ । 

आर्थिक वर्ष २०७६/२०७७ सम्म ८० प्रतिशत र आव २०७७/२०७८ सम्म भूकम्पले भत्किएका सबै सडकको काम सकिने जनाइएको छ । भूकम्प प्रभावित २१ जिल्लाका सडक आयोजनाको पुनःनिर्माण भइरहेको छ ।

भूकम्प अति प्रभावित सिन्धुपाल्चोकका सडक आयोजना पुनःनिर्माण अझै शुरु हुन नसकेको उपनिर्देशक श्रेष्ठले स्वीकार गरे । 

केही विदेशी संस्थाले सिन्धुपाल्चोकका सडक आयोजना पुनःनिर्माण गर्ने प्रतिबद्धता जनाएकाले काम शुरु हुन नसकेको हो । भूकम्प गएको चार वर्ष पुग्दा पनि ती संस्थाले काम शुरु नगरेकाले एकाईले नै गर्ने गरी प्रस्ताव अघि बढाइएको छ । 

भूकम्प प्रभावित क्षेत्रका सडकका पुल हालसम्म पुनःनिर्माण हुन सकेको छैन । करीब एक दर्जन पुल पुनःनिर्माण स्वीकृतिका लागि अर्थ मन्त्रालयमा प्रस्ताव गरिएको एकाईले जनाएको छ । केही पुल पुनःनिर्माणको प्रस्ताव स्वीकृत भई आउने जानकारी आएको एकाई प्रमुख गणेशराज वस्तीले सुनाए । 

क्षतिग्रस्त २ सय ६२ सरकारी भवन पुनःनिर्माण

भूकम्पले भत्किएका २ सय ६२ सरकारी भवन पुनःनिर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

गोरखा भूकम्पले क्षति पुगेका ४ सय १५ सरकारी भवन बनाउनुपर्ने तथ्याङ्क छ । १ सय ४५ भवन पुनःनिर्माण भइरहेको छ । आठ वटा सरकारी भवन पुनःनिर्माण गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । 

हालसम्म ६३ प्रतिशत सरकारी भवन पुनःनिर्माण सम्पन्न भएकामा चालू आर्थिक वर्षको अन्त्य सम्ममा ७५ प्रतिशत पूरा गर्ने लक्ष्य रहेको प्राधिकरणका सहप्रवक्ता घिमिरेले जानकारी दिए । 

आर्थिक वर्ष २०७६/२०७७ मा ९० प्रतिशत पुनःनिर्माण सक्ने लक्ष्य छ । आव २०७७÷२०७८ मा ४ सय १५ वटै सरकारी भवनको पुनःनिर्माण सकिने उनले बताए । भूकम्पले १ सय ६२ सरकारी भवनमा पूर्ण र २ सय ५३ मा आंशिक क्षति पुगेको थियो । 

सुस्त खानेपानी आयोजना पुनःनिर्माण

भूकम्पको चार वर्ष बित्दा पनि मानवीय जीवनका लागि अत्यावश्यक खानेपानीका संरचना पुनःनिर्माणले भने गति लिन सकेको छैन । 

भूकम्पले क्षति पुगेका तीन हजार २ सय १२ खानेपानी आयोजनामध्ये हालसम्म ७ सय ९१ को मात्र पुनःनिर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ । यो कूल क्षति भएकामध्ये २५ प्रतिशत मात्र हो ।

हाल ६ सय ७० आयोजना पुनःनिर्माण भइरहेका छन् । अझै एक हजार ७ सय ५१ आयोजना पुनःनिर्माण हुन सकेको छैन । वैशाख ८ गतेसम्म प्राधिकरणमा प्राप्त तथ्याङ्क अनुसार ५५ प्रतिशत खानेपानी आयोजना बनाउने सुरसार छैन ।

आधा बढी विद्यालय भवन पुनःनिर्माण

भूकम्पले क्षति पुगेका सात हजार ५ सय ५३ विद्यालय भवनमध्ये चार हजार २ सय ५३ को पुनःनिर्माण सम्पन्न भएको छ ।

हाल दुई हजार १ सय ३१ विद्यालय भवन बनिरहेको छ । एक हजार १ सय ६९ विद्यालय भवन अझै पुनःनिर्माण शुरु हुन नसकेको प्राधिकरणले जनाएको छ । 

यसैगरी भूकम्पले ४९ हजार ६ सय ८१ कक्षा कोठामा क्षति पुगेको थियो । वैशाख पहिलो सातासम्म १८ हजार ४ सय ५६ कक्षा कोठा पुनःनिर्माण सम्पन्न भएको छ । १८ हजार ५ सय ५० कक्षा कोठा बनिरहेका छन् । १२ हजार ६ सय ७५ कक्षा कोठा अझै बन्न सकेको छैन । 

भूकम्पले क्षति पुगी पुनःनिर्माण गर्नुपर्ने विभिन्न विश्वविद्यालयका ३० क्याम्पसमध्ये हालसम्म दुई वटाको मात्र काम सम्पन्न भएको छ । हाल २१ क्याम्पस भवन पुनःनिर्माण भइरहेको प्राधिकरणका सहप्रवक्ता घिमिरेले बताउनुभयो । सात क्याम्पस भवन अझै पुनःनिर्माण शुरु हुन सकेको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?