अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मैदान सम्याउने काम शुरु

चितवन। चितवनको रामपुरमा बन्ने अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मैदान सम्याउने काम शुरु भएको छ । 

डोजर र ग्रेडरले मैदानको मुख्य कालोपत्र बन्ने ठाउँ सम्याउन शुरु गरिएको हो । 

मैदानमा कालोपत्र निर्माणको प्रारम्भिक काम गर्न नेपालका क्युरेटर कोमल पाण्डेले माटोको प्रकृतिबारे जाँच गरेको छ । उनका अनुसार रङ्गशाला निर्माण हुन लागेको ठाउँको माटो क्रिकेट कालोपत्र निर्माण गर्न उपयुक्त छ ।

‘कालोपत्र निर्माण गर्न पानी सोस्न सक्ने माटो चाहिन्छ’, उनले भने, ‘यहाँको माटोमा त्यो गुण भेटियो । माटो तत्काल फिलिङ गर्नुपर्ने देखिएन, कालोपत्रका लागि थप माटो चाहिए तनहुँबाट ल्याउनुपर्छ ।” 

उनका केही दिनसम्म चितवनमा नै बसेर रङ्गशालामा बन्ने क्रिकेट कालोपत्रका प्रारम्भिक काम अघि बढाउनु हुनेछ । क्युरेटर पाण्डेले वर्षा अगाडि नै कालोपत्र सम्बन्धी आधारभूत संरचना बनाई सक्नुपर्ने बताए । रङ्गशालाको मैदानभित्र बन्न लागेको संरचनामा पर्ने रुखलाई काट्नुपर्ने भएकाले रुख कटानका लागि रामपुर कृषि क्याम्पसलाई पत्रचार गर्न लागिएको साइट इञ्चार्ज अर्जुन भुसालले जानकारी दिए । 

रङ्गशालाको अन्य संरचनाको डिपिआर करीब बनिसकेको छ भने मूल रङ्गशालाको डिपिआर बन्ने अन्तिम चरणमा रहेको धुर्मस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए । उनका अनुसार डिपिआर र  वातावरणीय प्रभाव मूल्याङ्कन ‘इएआई’ को काम सँगसँगै बढाइएको छ ।

रङ्गशाला बन्ने क्षेत्रलाई जस्ताले बार्ने काम, रङ्गशाला निर्माण कार्यालय भवन, कर्मचारी आवासगृह, गोदाम घर, सुरक्षाकर्मी घरलगायतका आवश्यक संरचना निर्माण भइसकेका छन् । रङ्गशाला निर्माण गर्न हालसम्म करीब ८० लाखको खर्च भएको छ । 

जेठ महीनासम्ममा ५० करोड सङ्कलन गरी आवश्यक निर्माण सामग्री जम्मा गर्ने तयारी भइरहेको फाउण्डेशनका अध्यक्ष कट्टेलले जानकारी दिए । हालसम्म ६ करोड सङ्कलन भएको फाउण्डेसनले जनाएको छ । कट्टेलले आर्थिक सहयोगका लागि देशभर अभियान शुरु गरिने बताए । 

आगामी भदौमा निर्माणको शिलान्यास गर्ने योजना रहेको फाउण्डेशनका अध्यक्ष कट्टेलले जानकारी दिए । 

नागरिकको सहयोगमा निर्माण गर्न लागिएको रङ्गशालाको निर्माणमा तीन अर्ब लाग्ने धुर्मुस–सुन्तली फाउण्डेशनले जनाएको छ । अहिले बन्न लागेको रङ्गशालामा ३५ खेल खेलाउन सकिने छ । कृषि तथा वनविज्ञान विश्वविद्यालयको २० बिघा छ कट्ठा जग्गामा रङ्गशाला निर्माण गर्न लागिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?