बारा र पर्सा हावाहुरी : सरकारले सेनालाई दियो प्रभावित घर निर्माणका लागि ८४ करोड ६८ लाख

काठमाडौं । सरकारले नेपाली सेनलाई बारा र पर्सामा हावाहुरीले क्षतिग्रस्त घर निर्माणका लागि ८४ करोड ६८ लाख रुपैयाँ दिने निर्णय गरेको छ । 

गत वैशाख ५ र १० गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । 

मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले हावाहुरीबाट क्षतिग्रस्त १४ सय ५३ वटा घर निर्माणका लागि सेनालाई ८४ करोड ६८ लाख ७६ हजार १ सय ४० रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिएका हुन् । 

यसअघि सरकारले बारा र पर्सामा हावाहुरीबाट क्षतिग्रस्त घर निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । 

सरकारले दिएको रकम र घरधुरी संख्या हिसाब गर्दा एउटा घरवापत सेनाले ५ लाख ८२ हजार ८ सय ४७ रुपैयाँ पाएको हो । 

गत चैत्र १७ गते साँझ असिना पानीसँगै आएको हावाहुरीले ३१ जनाको मृत्यु भएको थियो भने ५ सयभन्दा बढी घाइते भएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?