अल्लोको कपडा उत्पादन गरिने

सिन्धुली । सिन्धुली फिक्कल गाउँपालिका–१ महादेवडाँडाका स्थानीयवासीले अल्लोलाई प्रशोधन गरेर कपडा बनाउन थालेका छन् । 

अल्लोबाट कपडा बनाउने सम्बन्धी एक महिने तालीम लिएपछि उनीहरु व्यावसायिक रूपमै कपडा बुन्ने अभियान शुरु गरेका हुन् । 

फिक्कल गाउँपालिका र घरेलु तथा साना उद्योग विकास समिति सिन्धुलीले अल्लोको महत्व र उपयोगिताबारे जानकारी गराएपछि स्थानीयवासीले त्यसबाट कपडा बुन्ने व्यवसाय सञ्चालन गर्न अग्रसर भएका छन् । महादेवडाँडाका जङ्गलमा अल्लो प्रशस्त पाईन्छ ।

त्यत्तिकै खेर गइरहेका अल्लोबाट कपडा उत्पादन गरी घरमै रोजागरी सिर्जना गर्ने र आफू पनि आत्मनिर्भर हुने भएपछि उनीहरु यो व्यवसायप्रति आकर्षित भएका हुन् । अहिले उनीहरुको क्षमता अभिवृद्धिको कार्य भइरहेको छ ।

अल्लोलाई प्रशोधन गरेर कपडा बुनाइका लागि आवश्यक पर्ने मेसिन फिक्कल गाउँपालिका र दातृ निकायको सहयोगमा खरीद भएका छन् । स्थानीयवासी अहिले अल्लोको कपडा उत्पादन गरी गाउँपालिकालाई नै समृद्ध बनाउने योजनाका साथ लागिपरेका छन् ।

गाउँघरमा पाइने अल्लोलाई सही प्रयोग गर्दा आम्दानी हुने थाहा पाएपछि आफूलाई अल्लोको कपडा बुन्न इच्छा रहेको स्थानीय कर्णबहादुर सुनुवारले बताए । 

उनले भने, “युवा पैसा कमाउन विदेश जान्छन् तर यहाँ पैसा फलाउने स्थानीय कच्चा पदार्थ कुहिएर गएको देखेनन्, अल्लोलाई प्रशोधन गर्दा आम्दानी हुने थाहा पाएँ, गाउँघरमा प्रशस्त पाइने अल्लोलाई सही सदुपयोग गर्दा विना लगानी चोखो आम्दानी हुने भएकाले अल्लो बुनाइको सीप लिएको छु, सीप सिकेर घरमै स्वरोजगार बन्ने छु ।”

विनापैसा गाउँघरको स्थानीय वस्तुलाई प्रयोग गर्दा आम्दानी गर्न सकिने भएकाले हामीले गाउँपालिकालाई आग्रह गरेको उनको भनाइ छ ।

स्थानीयवासी केशकुमारी सुनुवारले अल्लोलाई सही सदुपयोग गरेर आयआर्जन गर्ने बताइन् । अल्लोबाट पैसा कमाउन सकिन्छ भन्ने सोचेको पनि थिइनँ, अहिले थाहा पाउँदा उद्यमी बन्ने रहर पलाएको छ, अब घरमै बसेर स्वरोजगार हुने लक्ष्य रहेको उनले भनिन् ।

अल्लोबाट उत्पादन गरेको कपडाको गाउँपालिकाले बजारीकरण गर्ने भएकाले आफूहरु अल्लोको कपडा बुन्न इच्छुक भएको समेत उनले बताइन् । 

अल्लोबाट स्वरोजगारी भई आयआर्जन गरेर जीविकोपार्जन गर्न स्थानीयवासीले चासो देखाएपछि गाउँपालिकाले लगानी गरेको फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले ब आफ्नै ठाउँमा बताए ।

धेरैलाई रोजगारी सिर्जना गर्न सकिने सम्भावना भएकाले गाउँपालिकाले प्राथामिकताका साथ अल्लोको कपडा बनाउन साझेदार संस्थासँग मिलेर काम गरेको बताए । अल्लोबाट आयआर्जन गर्न सकिने र सिन्धुलीको फिक्कलको चिनोका रूपमा अल्लोको कपडाबाट विभिन्न प्रकारका कपडा वितरण गर्न सकिने उनको भनाइ छ । 

अल्लोको खेती नै नगरी स्थानीयस्तरमा पाइने अल्लोलाई प्रशोधन गरेर यसबाट कपडा बनाउने सम्भावना भएको देखेर महादेवडाँडामा उद्योग स्थापनाका लागि गाउँपालिकाले आवश्यक भवन निर्माण गरिरहेको उनले बताए । 

फिक्कलमा अहिले पर्यटन प्रवद्र्धनका लागि भ्यूटावरलगायत अन्य भौतिक पूर्वाधार निर्माण गरिएको, स्थानीयस्तरमा होमस्टे सञ्चालनका लागि गाउँपालिकाले चासो देखाएकाले विस्तारै आन्तरिक तथा बाह्य पर्यटक गाउँपालिकामा भित्रनेक्रम बढेकाले अल्लोबाट उत्पादित वस्तुको बिक्रीका लागि कुनै समस्या नहुने र स्थानीयवासीले उत्पादन गरेका अल्लोबाट उत्पादित कपडाको बिक्रीवितरणका लागि गाउँपालिकाले बजारीकरण गर्न सहयोग गर्नेछ, उनले भने । 

विगतमा पनि यस क्षेत्रमा अल्लोबाट कपडा बुनाइको प्रयास भएको तर भौगोलिक विकटता, सडक पूर्वाधार नहुनु, स्थानीयस्तरमा यसको महत्व नहुनुले पनि सफल नभएको भन्दै उपाध्यक्ष सुनुवारले अब स्थानीयस्तरमा स्थानीय कच्चा पदार्थको उचित प्रयोग गरेर उत्पादनमूलक कार्यमा लागेको बताए ।  

अल्लाको कपडा देश तथा विदेशमा निर्यात हुने गरेको भन्दै उनले अब स्थानीयवासीले पनि चासो देखाएकाले गाउँपालिकाले मागमा आधारित भई लगानी गरेर आवश्यक उपकरण खरीद गरिएको उनले बताए ।  सम्भावनाका आधारलाई पछ्याउँदै गाउँपालिकालाई समृद्ध बनाइने लक्ष्यका साथ आफूहरु लागिपरेको पनि उनले बताए । 

स्थानीयलाई सचेत तुल्याइ दिगो आयआर्जन गर्न सकिने कार्यमा संलग्न गराउन सकेमा दुर्गम र पिछडिएका विपन्न जातजातिको जीविकोपार्जनमा सहयोग पुग्ने विश्वासका साथ गाउँपालिकाले त्यस्ता समुदायको जीवनस्तर उठाउनमा अल्लोले टेवा पु-याउने आशा लिएको उपाध्यक्ष सुनुवारले बताए । 

सिन्धुलीमा अल्लोबाट वार्षिक २ सय लाई स्थानीयस्तरमै स्वरोजगार बनाउन सकिने सम्भावना रहेको श्री सिन्धुलीका कार्यक्रम संयोजक बेदराज दाहालले बताए । जिल्लाका धरै स्थानमा अल्लो पाइन्छ तर महादेवडाँडामा धेरै ठूलो सम्भावना रहेकाले स्थानीयवासीलाई अल्लोका कपडा बुनाइमा सीप दिइएको उनले जानकारी दिए ।

महादेवडाडाँ, जिनाखु, अरुणठाकुर, ककुरठाकुर, बाहुनतिल्पुङ र खोलागाउँमा अल्लो प्रशस्त पाइने गरेका छन् । यहाँ गरिएको एक अध्ययनबाट वार्षिक ५६ हजार धागोका रेशा अल्लोबाट निकाल्न सकिने सम्भावना रहेको उनले बताए । 

अहिले महाभारतमा अल्लोका कपडा बुन्न श्री सिन्धुली, घरेलु तथा साना उद्योग विकास समिति सिन्धुली र फिक्कल गाउँपालिकाको संयुक्त सहयोगमा चार थान कपडा बुन्ने तान, एउटा वर्किङ मेसिनलगायत आवश्यक उपकरण सहयोग गरेको समेत उनले बताए । 

अल्लोका कपडाले राम्रो बजार मूल्य पाउन थालेपछि यसबारेमा स्थानीयवासीले पनि चासो देखाउन थालेको अल्लो अनुसन्धानकर्ता हरिगोपाल च्यासीले बताए ।

च्यासीले भने, “नेपालमा अल्लो पूर्वदेखि पश्चिमसम्मको उच्च पहाड सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, मकवानपुर, सोलुखुम्बु, ताप्लेजुङ, रुकुम, रोल्पा, भेजपुरलगायत ३५ जिल्लामा पाइन्छ, अल्लोको काम खासगरी राई, शेर्पा, मगर, गुरुङ जातिले गर्दछन्, अल्लोको रेशाबाट बुनेको कपडा अरु कपडाको तुलनामा बलियो, न्यानो हुने, गर्मीयाममा प्रयोग गर्दा छाला रोग हुनबाट बचाउँछ ।” राज्यको उचित ध्यान पुग्नसके श्रमबाहेक पैसा नलाग्ने हुँदा रोजागरी र दिगो आम्दानीको स्रोतमा युवालाई सहभागी गराउन सक्नेछन् उनले जानकारी दिए । 
    
अल्लोका रेशाहरुबाट बुनिएका धागोका कपडा देशमा भन्दा पनि विदेशमा निर्यात हुने भई यसबाट विदेशी मुद्रा आर्जन गर्न सक्दा यसले देशलाई समृद्ध बनाउनमा टेवा पुग्ने विश्वास उनको छ ।

अल्लोको धागोबाट दुर्गम क्षेत्रमै वा स्थानीयस्तरमा विनालगानी सहजै थैली, क्याप, टोपी, जुत्ता, झोला, माछा मार्ने जाल, पछ्यौरा, प्रेसम्याट, पर्दा आदिका कपडा बनाई प्रयोग गर्नुका साथै बिक्री गरेर आफ्नो आवश्यकता पूर्ति गर्न सकिने  उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?