प्रदेश ५ सरकारले बजेट निर्माणबारे छलफल गर्दै

काठमाडौं । प्रदेश ५ सरकारले बजेट निर्माणबारे छलफल शुरु गरेको छ । 

संघीय सरकारले बजेट अनुदानका सिलिङ पठाएसँगै प्रदेश सरकार बजेट निर्माणको छलफलमा जुटेको हो । 

प्रदेशलाई संघीय सरकारले वित्तीय समानीकरण अनुदानतर्फ ७ अर्ब ५४ करोड १ लाख रूपैयाँ र राजस्व बाँडफाँडमा ९ अर्ब ९१ करोड २३ लाख रुपैयाँको सिलिङ पठाएको छ ।

प्रदेश ५ को आन्तरिक मामिला तथा योजना मन्त्रालयका सचिव किशोर जोशीले सिलिङ अनुसार सबै मन्त्रालयलाई निर्देशिका जारी गरिएको बताए ।

प्रदेश योजना आयोगले ५ वर्षे अवधिक योजनाको आधार पत्र बनाएको छ । 

सो आधारपत्रलाई आधार मानेर आर्थिक वर्ष २०७६–०७७ को बजेट बनाउने सचिव जोशीले बताए । 

दिगो र प्रभावकारी विकासका लागि भन्दै प्रदेश योजना आयोगले विभिन्न आवश्यकता निर्धारण गरेर ५ वर्षे आवधिक योजनाको आधार पत्र बनाएको हो । 

प्रदेश ५ को गत वर्षको बजेट २८ अर्ब २९ करोड रुपैयाँको थियो । 

संघीय सरकारले जेठ १५ गते बजेट प्रस्तुत गर्नेछ भने प्रदेशले असार १ गते बजेट ल्याउनेछन् ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?