आमालाई उपहार दिन अनलाइन सपिङ ? अपनाउनुहोस् यी सावधानी

काठमाडौं । आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी नजिकिएको छ । यस दिनमा आआफ्नो गच्छेअनुसार आमालाई उपहार र मिष्ठान्न परिकार दिएर आमाप्रति सम्मान र  माया प्रकट गर्ने चलन छ । यसैलाई ‘क्याच’ गर्दै नेपाली  अनलाइन सपिङ सञ्चालकहरुले पनि विभिन्न डिस्काउन्ट अफरको ट्याग राखेर सामानहरु पेजमा राखिरहेका छन् । 

हिजोआज इन्टरनेटमार्फत विभिन्न साइटहरु खोलेर त्यसैबाट सामाग्री शो गर्ने र अर्डर टिपेर डेलिभरी गरिदिने अनलाइन सपिङप्रति मानिसहरुको रुची बढ्दै गएको छ । बढ्दो व्यस्तता, ठगिने डर, तथा बार्गेनिङ गरिरहनुपर्ने झन्झटबाट वाक्क भएकाहरु अक्सर अनलाइन चहार्छन् र सामान खरिद गर्छन् ।  अहिले तपाई जुन कुनै सामाजिक सञ्जालमा इन्गेज हुनुहोस्, त्यहाँ कुनै न कुनै विज्ञापन देखापर्छ । औंसीको लागि आमालाई यो सारी दिनुहोस्, औंसीको लागि आमालाई यो लाली यस्तै यस्तै विज्ञापनले छपक्कै छ सामाजिक सञ्जालहरु ।  

कलंकी बस्ने २१ वर्षीय लक्ष्मी भट्टलाई आमाको मुख हेर्ने दिन अघिल्ला वर्षहरुमा जस्तै के दिनेहोला भनेर सोचिरहनुपर्ने बाध्यता हटेको छ । किनकी उनी अनलाइनबाट सपिङ गर्छिन् । पुरानो बानेश्वरकी संगिता कुँवरको रोजाइ पनि अनलाइन सपिङ हो । उनी भन्छिन्, ‘मलाई बार्गेनिङ गर्न पटक्कै आउँदैन ।  मन परेको सामान र त्यसको मूल्य थाहा पाउन सकिने कारणले म यो प्रति उत्साहित छु ।’ उनले थपिन्, ‘तर सामान  लिने बेलामा आफ्नो अर्डरकै सामान हो होइन तथा ड्यामेज भए नभएको राम्ररी हेरेर मात्रै लिन्छु ।’ 

अनलाइन सपिङमा युवालाई टार्गेट गरेर पनि विभिन्न सामानहरु राखिन्छ । तर  युवतीको तुलनामा निकै कम युवाहरु अनलाइन सपिङ गर्ने सञ्चालकहरु बताउँछन् । कलेजका युवती मात्रै होइनन् अफिस गर्नेदेखि गृहणीसम्मैको रोजाइमा परेको छ अनलाइन सपिङ ।

कलेज पढ्ने युवायुवती हिजोआज बढीजसो सामाजिक सञ्जालमा नै समय व्यतीत गर्दछन् । सामान राम्रो लाग्यो भने मूल्य बुझ्छन् र अर्डर गर्छन् । कलेज  पढ्ने युवतीहरु कतिपय अनलाइन सपिङमै काम गर्ने भएकोले पनि साथीहरुसँग कन्ट्याक्ट भएका कारण पनि उनीहरु अनलाइनप्रति थप आकर्षित भएका छन् । अनलाइन सपिङको सुविधाले गर्दा युवतीहरुको आफै बजार गएर सामान किन्ने बानी हराइसक्यो । ‘सधै भनेको जस्तो सामान डेलिभरी हुँदैन तर, के गर्ने अनलाइन सपिङ गर्ने बानी परिसक्यो,’ युवतिहरुको साझा गुनासो यही हो । 

अनलाइन सपिङमा युवालाई टार्गेट गरेर पनि विभिन्न सामानहरु राखिन्छ । तर  युवतीको तुलनामा निकै कम युवाहरु अनलाइन सपिङ गर्ने सञ्चालकहरु बताउँछन् । 
कलेजका युवती मात्रै होइनन् अफिस गर्नेदेखि गृहणीसम्मैको रोजाइमा परेको छ अनलाइन सपिङ ।  नेपालका लागि नौलो प्रयोग भएको कारणले पनि पछिल्लो समय धेरै नेपालीलाई अनलाइन सपिङले आकर्षित गरेको छ । 

यसर्थ, नेपाली बजारमा ‘अनलाइन सपिङ’ को ट्रेन्ड ह्वात्तै बढेजस्तो देखिन्छ । विशेषत यसका दुई प्रमुख कारण हुन् : व्यस्तता र सौखिन जीवनशैली । आजकल उपभोक्तालाई दोकान चहार्दै सामान किन्ने फुर्सद हुँदैन । फुर्सद भएपनि अनलाइन सपिङ विकल्पमा हुँदाहुँदै आफ्नो समय र उर्जा खर्चिनु झन्झटिलो लाग्छ । स्वभाविक हो । 

एकातिर, घरमै बसीबसी आफ्नो रोजाइको सामान खत्रक्क आफ्नो हातमा आउने खुसीले उपभोक्तालाई पुलकित बनाइरहेको छ भने अर्कातिर, सबै सामान आफूले रोजे जस्तो, खोजे जस्तो र सोचे जस्तो हुन्छन् होला भन्ने प्रश्नले पनि उत्तिकै पिरोलिरहेको छ ।

अनलाइन सपिङमार्फत् लाभान्वित हुनेको सङ्ख्या जसरी दिन प्रतिदिन बढ्दै गएको छ, यसबाट ठगिनेको सङ्ख्या पनि उत्तिकै चुलिँदै गइरहेको छ । अतः किनमेल गर्ने र ठगिने दुवै पक्ष समानान्तर रुपमा चलिरहेका छन् । 

यद्यपी, चाडवाडले च्याप्पै समातेको बेला अनलाइन सपिङ मार्फत् किनमेल गर्नेको सङ्ख्या बढीरहेको छ । अनलाइन सपिङमार्फत् लाभान्वित हुनेको सङ्ख्या जसरी दिन प्रतिदिन बढ्दै गएको छ, यसबाट ठगिनेको सङ्ख्या पनि उत्तिकै चुलिँदै गइरहेको छ । अतः किनमेल गर्ने र ठगिने दुवै पक्ष समानान्तर रुपमा चलिरहेका छन् । 

यसरी ठगिन्छन् ग्राहक :

पहिलो कुरा त, अनलाइन सपिङ गरिएका प्राय सामान आफैमा गुणस्तरहीन हुने ग्राहकको गुनासो छ । यद्यपी कुनै अवस्थामा गुणस्तरीय ब्रान्डकै सामान भएपनि कमसल निर्माण सामाग्री प्रयोग गरेर उपभोक्ताको आँखामा छारो हाल्ने काम गरिन्छ ।

त्यसैगरी, उच्च ब्रान्डको ‘डुप्लिकेट’ प्रोडक्ट निर्माण गरेर कम दाममा पनि बेचिने उपभोक्ताले बताए । आफ्नो रोजाइको ब्रान्डको सामान कम दाममा पाउँदा उपभोक्ता पनि मख्ख पर्दै किन्छन् तर, उक्त सामान प्रयोग गरेपछि मात्र वास्तविकता उनीहरुको सामू आउँछ । सामाजिक सञ्जालमा नै उपभोक्ताले अनलाइनमा देखिँदाको सामान र आफूले प्रयोग गर्दाको दृश्य भद्दा लाजलाग्दो भएको भन्ने टिप्पणी गरिरहेका छन् । 

उपभोक्ताहरु विशेष गरेर कपडा, जुत्ता, ब्यागको मामिलामा ठगिइन्छन् । साइटमा हेर्दा राम्रो देखिने सामान ‘रियल’मा वेग्लै रङ्ग, बनावट र गुणस्तरको हुन सक्छन् । कतिपय अवस्थामा भने अनलाइन स्टोर आफैले आफ्नो ‘टर्म एण्ड कन्डिसन’ अनुरुप काम गरेको पाइँदैन । 

अनलाइन सपिङ गर्न नजानेको पो हो कि ?

अनलाइन सपिङ कसरी गर्ने भनेर उचित जानकारी नभएकाले पनि ठगिने सम्भावना निम्त्याएको हुनसक्छ । इन्टरनेट जति उपयोगी छ उति नै घातक पनि । त्यसैले आफूलाई ठग्न, लुट्न च्याउसरि जुर्मुराएका अनलाइन सपिङ स्टोरको पहिचान बेलैमा गर्न जरुरी छ । अनलाइन सपिङ गर्नुअघि ध्यान दिनुपर्ने केही टिप्सहरु यस प्रकार छन् :

– आफ्नो कम्प्युटरलाई एन्टी भाइरसबाट सुरक्षित बनाउने । पासवर्ड कसैले पत्ता लगाउन नसक्ने किसिमको राख्ने ।

– आफूले सामान खरिद गर्न लागेको स्टोर कतिको सुरक्षित छ भनेर अगाडि नै सर्तक हुने । शंकास्पद साइटहरुबाट टाढै रहने ।

– साइटको विश्वसनीयता थाहा पाउन ग्राहक र मिडियाको समीक्षाहरू जाँच गर्ने । नाम चलेका, धेरै वर्षदेखि सेवा पु¥याउँदै आएका साइटहरुको मात्र प्रयोग गर्ने ।

– सामान किन्नु अघि भुक्तानी गर्ने, रद्द गर्ने, फिर्ता गर्ने र रिफन्ड गर्ने नियमहरु राम्रोसँग बुझ्ने । 

– सामानको गुणस्तर जाँच गर्न कम्पनीको लोगो, नामको स्पेलिङ, प्याकेजिङ, मूल्य आदि विषयमा ध्यान पु-याउने । 

– सामान  अर्डर गरेपछि फिर्ता गर्न नमिल्ने भएका कारण अर्डर गरेको सामानको क्वालिटी कलर, ब्रान्डबारे स्पष्ट हुने । 

– साइटको विश्वसनीयताका बारेमा ढुक्क भएपछि मात्र वित्तीय लेनदेनको कारोवार अघि बढाउने । 

– पहिलो पटक अनलाइन सपिङ गर्दै हो भने सकेसम्म डेबिट, क्रेडिट कार्डको प्रयोग नगर्ने । नगदमार्फत् भुक्तानी गर्ने । 

– अनलाइन किनमेलमा प्रयोग गरिने डेबिट कार्ड, क्रेडिट कार्ड, नेट बैंकिङको बैंक एकाउन्ट समय–समयमा जाँच गर्ने ।

– आफूले पैसा तिरिसकेपछि त्यसको रसिद, किनेको सामानको बिल लगायत विविध सामाग्री प्रमाणस्वरुप सुरक्षित राख्ने ।

– स्प्यामर र फिशरले विभिन्न खराब सफ्टवेयरमार्फत् व्यक्तिगत जानकारीमा हस्तक्षेप गर्ने भएकाले अनलाइन किनमेलको प्रक्रिया पूरा गरिसकेपछि सबै वेब ब्राउजर कुकीजहरू क्लियर गर्ने र पिसी बन्द गर्ने । 

सबै साइट खराब हुन्छन् भन्ने होइन । कतिले वर्षौंदेखि आफ्ना ग्राहकलाई उचित सेवा प्रदान गरेर विश्वास जित्न पनि सफल छन् । देशभरि मात्र नभएर अन्तर्राष्ट्रिय स्तरसम्मै आफ्नो सेवाहरु प्रदान गर्दै आएको तथ्यले पनि यस्ता स्टोरहरुले निकै राम्रो आम्दानी गरिरहेको कुरा प्रष्ट्याउँछ । नेपालका केही चलेका अनलाइन सपिङ साइटहरु :

दराज डट कम 

हाम्रो बजार डट कम

सस्तो डिल डट कम

नेप बे डट कम 

मुञ्चा डट कम

यी बाहेक विभिन्न कलेक्सनका नाममा पनि हजारौँ नेपाली साइटहरु सञ्चालनमा छन् । कतिपय साईटमा त उपभोक्ताले नराम्ररी गाली गरेका कमेन्ट पनि देख्न पाइन्छ । त्यसैले त्यसैले डिस्काउन्ट अफर राखेको छ भन्दैमा हतारिएर सपिङ गर्दा पछुताउनु बाहेक विकल्प  हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?