उपत्यकाको १० स्थानमा सवारी चार्जिङ स्टेसन स्थापना हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाको १० स्थानमा सवारीको चार्जिङ स्टेसन स्थापना गर्ने भएको छ । 

विद्युतीय सवारी प्रवद्र्धन गर्ने उद्देश्यसहित प्राधिकरण आफैँले काठमाडौंको १० स्थानमा सवारी चार्जिङ स्टेसन स्थापना गर्ने प्रक्रिया अघि बढाएको हो । 

यस चार्जिङमा ठूला बसलगायतका सवारी पनि चार्ज गर्न सकिनेछ प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सूचना जारी गर्दै शहरका मुख्य भागहरुमा स्टेसन निर्माण गर्न लागेको जानकारी दिएको छ । 

स्टेसनका लागि स्थान उपलब्ध गराउन व्यापारिक, कम्प्लेक्स, सिनेमा हल, सुपर मार्केट, पार्क, विश्वविद्यालय, सरकारी निकाय, होटल, अस्पताल लगायतलाई आग्रह गर्दै प्राधिकरणले सूचना जारी गरेको छ ।

विशेष गरी धेरै चहल–पहल हुने ठाउँमा पहिलो चरणमा ‘डीसी बुस्ट चार्जिङ स्टेसन’ राख्न लागिएको ऊर्जा दक्षता विभागका सहायक प्रवन्धक सागरमणि ज्ञावालीले जानकारी दिए ।

हाल पहिलो चरणमा १० चार्जिङ स्टेसनका लागि कन्ट्रोल रुमसहति १० करोड लगानी गर्ने योजना प्राधिकरणको छ ।

अबको ६ महिनमा उपत्यकाभित्र चार्जिङ स्टेसन खालिसक्ने योजना रहेको प्रवन्धक ज्ञावालीले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?