पाँच वर्ष बित्दा पनि बनेन् ललितपुरको सडक, धुलोका कारण सर्वसाधरण आजित

काठमाडौं । चापागाउँका नीरज तामाङ घरबाट सातदोबाटो पुग्दासम्म धुलाम्मे हुन्छन् ।

सडक विस्तारका लागि सडक खनेपनि थप काम हुन नसक्दा उनी धुलाम्मे हुन्छन् । लगनखेलस्थित एउटा सहकारी संस्थामा कार्यरत उनी धुलोकै कारण बाहिरबाट थप एक जोर लुगा लगाउने गरेको बताए । 

झण्डै चार वर्ष अघि सडक विस्तार शुरु भए पनि सम्पन्न हुन नसक्दा तामाङजस्तै धेरै नगरवासी हैरान छन् । जिल्लाका विभिन्न स्थानका गरेर पाँच सडक विस्तार शुरु भए पनि सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण अघि बढ्नसकेको छैन । यी सडकमा वर्षाको समय हिलो र हिउँदमा धुलोले गर्दा यात्रा कष्ठकर भइरहेको छ । 

विस्तारित सडकमा ठूला खल्डाखुल्डीले गर्दा सवारीसाधन चलाउन कठिन भएको चालक बताउँछन् ।

जिल्लाका पाँच वटा सडकमा विसं. २०७१÷७२ बाट सडक विस्तार शुरु भएको थियो । लगनखेल–सातदोवाटो, इमाडोलबाट सिद्धिपुर हुँदै लामाटार सडक र ढोलाहिटिबाट चापागाउँ हुँदै लेलेसम्मको सडक विस्तार शुरु भएर पनि सम्पन्न हुन नसकेको हो ।

त्यस्तै, कर्मनाशा खोलाबाट गोदावरी कुण्डसम्मको र नख्खुखोबाट भैँसेपाटी हुँदै बुङमतिसम्मको सडकको पनि अवस्था खराब रहेको छ । 

ललितपुरको चक्रपथबाट यहाँका महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका र महानगरपालिकाका विभिन्न वडा जाने सडक बन्न नसकेको हो । यहाँका झण्डै ३३ किलोमिटर सडक विस्तारको क्रममा रहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

सडकको चिन्ह लगाउने काम काठमाडौँ उपत्यका नगर विकास प्राधिकरणको र कालोपत्रको काम आयोजनाको भएको आयोजनामा कार्यरत प्रवक्ता इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए । 

उनका अनुसार सडकसँगै घरजग्गा भएका यहाँका स्थानीयवासीले जग्गा र घर दुबैको मुआब्जा माग्दै आएपनि सरकारको जग्गाको मुआब्जा दिने व्यवस्था छैन । उनले भने। “निर्माणाधीन सडकमा पहिले संरचना नै बनाउन नसकिएकाले कालोपत्र हुन नसकेको हो । ”

आयोजनाले अहिले खाली रहेका स्थानमा ढललगायतका संरचना निर्माण गरिरहेको इञ्जिनीयर श्रेष्ठले बताए । उनका अनुसार सुनाकोठी, ठेचो, सिद्धिपुर, चापागाउँ, बाँडेगाउँलगायतका पूराना बस्तीमा भने काम शुरु भएको छैन । 

“ढोलाहिटी लेले सडकमा नै चापागाउँसम्म काम हुन सकिरहेको छैन”, उनले भने, “चापागाउँबाट लेलेसम्मको जङ्गल क्षेत्रमा भने संरचना निर्माणको काम अघि बढिरहेको छ ।”

निर्माणाधीन यी सबै सडकमा विद्युत्,  टेलिफोनको पोल र रुख हटाउन नसक्दा पनि काममा अवरोध पुगेको श्रेष्ठले बताए । उनका अनुसार सम्बन्धित कार्यालयले संरचना हटाउन सहयोग गरेका छन् । विस्तारीत सडकमा नै मन्दिर, पाटीलगायतका धार्मिक महत्वका सम्पदा समेत परेपनि तीनका विषयमा के गर्ने भन्ने निर्णय हुन सकेको छैन । 

स्थानीयवासीले पहिले घरको मात्रै मुआब्जा माग्ने गरेकामा अहिले जग्गाको समेत मुआब्जाको माग गरिरहेको इञ्जिनीयर श्रेष्ठले बताए । स्थानीय तहले आग्रह गर्दा पनि स्थानीयवासी मुआब्जा पूरै चाहिने अडान लिइरहेको उनले बताए ।

उनले भने, “जनप्रतिनिधिले चाहेर पनि सडक विस्तारको काम हुन सकिरहेको छैन ।”

ढोलाहिटि–लेले सडकखण्डमा पर्ने सातदोबाटो ‘चक्रपथ’ देखि ढोलाहिटिसम्मको सडक दुई वर्ष पहिले निर्माण सम्पन्न भएको थियो । त्यहाँका सडक १७ दशमलव २ मिटरमा कालोपत्र भएकाले सुनाकोठी, ठेचोलगायतका स्थानका स्थानीयवासीले त्यहाँ पनि त्यही चौडाइमा काम गर्नुपर्ने माग भइरहेको आयोजनाले जनाएको छ । उनले भने, “हामीले भएको चौडाइ घटाएर काम गर्न मिल्दैन ।”

ठेक्का भएको लामो समयसम्म पनि सरकारले काम गर्ने साइट खाली गर्न नसकेकाले ठेकेदारले काम गर्न नसकेको आयोजनाले जनाएको छ । निर्माणाधीन यी सडकमा विसं २०७१÷७२ मा दुई वर्षमा काम सम्पन्न गर्ने गरेर ठेक्का सम्झौता भएको इञ्जिनीयर श्रेष्ठले बताए ।

उनका अनुसार अहिले चार पाँच वर्ष बित्न लाग्दा समेत ‘साइट’ खाली गर्न नसकेपछि ठेकेदारले समेत चाँडो खाली गर्न भनिरहेका छन् । 

आयोजनाले ललितपुर जिल्लाका पाँच वटा सडकसँगै काठमाडौँ जिल्लाका पाँच र भक्तपुर जिल्लाको एक सडकमा विस्तारको काम शुरु गरेपनि भौतिक प्रगति न्यून छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?