प्रमुख कार्यकारी अधिकृत ज्ञवाली जेनेभा प्रस्थान

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गरेका छन्।

भूकम्पपछि नेपालको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी भएका प्रगति र अनुभवबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइ थप सहयोग जुटाउने क्रममा उनी जेनेभा गएका हुन्। यही मे १३ देखि १७ सम्म जेनेभामा हुने पुनर्निर्माण सम्बन्धी चौथो विश्व सम्मेलन र विपद् जोखिम व्यवस्थापन सम्बन्धी ग्लोवल प्लेटफर्ममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपालको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धमा कार्यपत्र पेश गर्ने कार्यक्रम छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले कार्यक्रमबाट नेपालले पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धमा हासिल गरेको अनुभव आदान प्रदान गर्नुका साथै थप सहयोग जुटाउन र विपद् व्यवस्थापनका लागि तयारी गर्न सहयोग पुग्ने बताए। नेपालको पुनर्निर्माणमा भएको प्रगतिलाई अन्तर्राष्ट्रिय समुदायले प्रशंसा गरेका छन् । ‘विपद् व्यवस्थापनको तयारीमा पनि स्पष्ट योजना बनाएर अघि बढ्न आवश्यक छ’ उनले भने ।

सम्मेलनको मुख्य विषय उत्थानशील पुनर्स्थापनाका लागि समावेशिता रहेको छ । यस्तै गरी सम्मेलनमा सेन्डाइ फ्रेमवर्कको कार्यान्वयन, जोखिम न्यूनीकरण रणनीति, ‘विल्ड व्याक वेटर’, विपदबाट विस्थापितहरुको पुनर्स्थापना, जोखिममा परेका वर्गको सम्बोधन, विपद व्यवस्थापनमा स्थानीय सरकार र समुदायको भूमिका लगायतका विषयमा छलफल हुनेछ ।

सन् २०१५ मा जापानमा आयोजित संयुक्त राष्ट्रस‌ंघद्वारा आयोजित सम्मेलनबाट सन् २०१५ देखि २०३० सम्मको विपद् जोखिम न्यूनीकरण सम्बन्धी सेन्डाइ फ्रेमवर्क तयार पारिएको थियो । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको टोलीमा केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन) र केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का कर्मचारी सहभागी छन् ।

संयुक्त राष्ट्रसंघको आयोजनामा हुने उक्त सम्मेलनमा विश्वका विभिन्न देशका सरकारी एवं गैरसरकारी संस्था, दातृ निकाय, विज्ञ तथा सरोकारवालाहरुले विपद् पश्चातको पुनर्निर्माण र विपद् जोखिम न्यूनीकरणमा भएका कार्यक्रम तथा प्रगतिको समीक्षा, अनुभव आदानप्रदान र पछिल्लो अवस्थाबारे छलफल गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?