भक्तपुरमा पर्यटक आगमनमा वृद्धि

भक्तपुर । भक्तपुरमा आउने पर्यटकको सङ्ख्या यस वर्ष वृद्धि भएको छ ।

पर्यटकको सङ्ख्या वृद्धि भएसँगै भक्तपुर नगरपालिकाको आम्दानीसमेत वृद्धि भएको छ । भक्तपुर नगरपालिकाभित्र रहेका ऐतिहासिक सम्पदाको अवलोकनका लागि आउने पर्यटकको सङ्ख्यामा २०७४ सालको तुलनामा २०७५ सालमा ३४ हजार ८ सय ३४ ले वृद्धि भएको भक्तपुर नगरपालिका पर्यटन सूचना केन्द्रले जानकारी दिएको छ । 

विसं २०७४ मा भक्तपुरमा सार्क राष्ट्र तथा चीनका ९३ हजार ५ सय ३० र अन्य राष्ट्रका एक लाख २५ हजार ४ सय ९९ पर्यटक गरी दुई लाख १९ हजार २९ पर्यटकले आगमन भएको छ । 

२०७५ सालमा भने सार्क तथा चीनका एक लाख १५ हजार ९ सय ६ र अन्य राष्ट्रका एक लाख ३७ हजार ९ सय ५७ गरी दुई लाख ५३ हजार ८ सय ६३ पर्यटकले आगमन भएको छ । 

नगरपालिकाले सार्क राष्ट्र तथा चीनका पर्यटकबाट प्रति पर्यटक ५ सय र अन्य राष्ट्रका पर्यटकबाट प्रति पर्यटक एक हजार ५ सय पर्यटन शुल्क सङ्कलन गर्दै आएको छ । पर्यटन शुल्कबापत नगरपालिकाले २०७५ सालमा सार्क राष्ट्र तथा चीनका पर्यटकबाट  पाँच करोड ७९ लाख ५३ हजार र अन्य राष्ट्रका पर्यटकबाट २० करोड ६९ लाख ३५ हजार ५ सय गरी कूल २६ करोड ४८ लाख ८८ हजार ५ सय राजश्व सङ्कलन गरेको छ ।

नगरपालिकाले २०७४ सालमा भने सार्क राष्ट्र तथा चीनका पर्यटकबाट चार करोड ६७ लाख ६५ हजार र अन्य राष्ट्रका पर्यटकबाट १८ करोड ८२ लाख ४८ हजार ५ सय गरी कूल २३ करोड ५० लाख १३ हजार ५ सय राजश्व सङ्कलन गरेको थियो ।  

भक्तपुर आउने पर्यटकमध्ये सबैभन्दा बढी चीनबाट पर्यटक आएका छन् भने त्यसपछि भारत, अमेरिका, फ्रान्स, स्पेनलगायत देशका पर्यटक आएको केन्द्रले जानकारी दिएको छ । नगरपालिकाले पर्यटकसँग सेवा शुल्क उठाउन नगरका १४ स्थानमा काउन्टर स्थापना गरेको छ ।

भक्तपुर प्रवेश गर्ने पर्यटकसँग उठाउने सेवा शुल्क नै भक्तपुर नगरपालिकाको प्रमुख आयस्रोत हो । 

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 34 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?