मिनर्वा पन्जावविरुद्धको खेलमा जीत निकाल्छौँ : मुख्य प्रशिक्षक लोप्साङ

काठमाडौं । मनाङ मस्याङ्दी क्लबका मुख्य प्रशिक्षक छिरिङ लोप्साङले भारतको मिनर्वा पन्जाबविरुद्धको खेलमा जीत निकाल्ने लक्ष्य रहेको बताएका छन् । 

एफसी कप फुटबल अन्तर्गत नेपालको शहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङले भोली ‘बुधवार’ भारतको मिनर्वा पन्जाबको सामना गर्दैछ । यि दुई क्लबबीचको खेल बुधवार दिउँसो ३ बजेपछि शुरु हुनेछ । 

आज ‘मंगलवार’ भएको प्रि म्याच कन्फ्रेन्समा बोल्दै मुख्य प्रशिक्षक लोप्साङले भारतिय क्लब मिनर्वा पन्जावलाई दवावमा राख्दै खेल खेल्ने पनि जानकारी दिए । साथै प्रशिक्षक लोप्साङले पुरानो गल्तीहरुलाई सच्याउँदै र पाठ सिक्दै महत्वपूर्ण ३ अंकको लागि खेल खेल्ने पनि जानकारी दिए । 

‘हामीहरु जीत निकाल्नैको लागि मैदानमा उत्रदै छौँ, टिमको पुरानो सबै गल्तीहरुबाट पाठ सिक्दै मिनर्वालाई पराजित गर्ने हाम्रो लक्ष्य छ, त्यहि अनुरुप रणनीति बनाएर मैदानमा पनि उत्रदै छौँ’, उनले बताए । 

उनले मिनर्वा पन्जाबसँगको खेलमा टिमको संरचनाहरुमा पनि केही फेरबदल हुन सक्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिए । यता मनाङका कप्तान विराज महर्जनले पनि घरेलु मैदानमा हुने खेलमा आत्मविश्वास बढेको बताए ।

‘हामीसँग घरेलु मैदान र दर्शक छ, त्यसैले ती सबै कुराको फाइदा उठाउँदै ३ अंक आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ मैदानमा उत्रदै छौँ, हामीहरु आफ्नै कमिकमजोरीका कारण अघिल्लो तीन खेलमा पछि परेका थियौँ, तर, भोली ‘बुधवार’को खेलमा शतप्रतिशत नतिजा निकाल्ने छौँ’, उनले बताए । 

साथै उनले मनाङको अघिल्लो चरण प्रवेशको सम्भावना अझै बाँकी रहेको पनि जानकारी दिए । 

यता भारतिय क्लब मिनर्वा पन्जाबका मुख्य प्रशिक्षक सचिन तनाजी बडाढेले मनाङ मस्याङदी क्लबविरुद्धको खेलमा जीत निकाल्ने लक्ष्य रहेको बताए । मुख्य प्रशिक्षक बडाढेले भने, ‘हामी भोली हुने मनाङविरुद्धको खेलमा ३ अंक जोड्ने लक्ष्य सहित मैदानम उत्रदै छौँ ।’ 

उनले भने, ‘मनाङसँगको खेलका लागि हामी सकारत्मक छौँ, त्यहि अनुरुप खेल पनि खेल्छौँ, साथै ३ अंकका लागि प्रतिस्पर्धा पनि गर्ने छौँ ।’ 

भारतीय आई लिग च्याम्पियन मिनर्वा पन्जाबले यसअघि आफ्नो घरेलु मैदानमा मनाङसँग २-२ गोलको बराबरी खेलेको थियो । 

एएफसी कप फुटबललाई गम्भिरताका साथ लिएका कारण पनि उत्कृष्ट खेल खेल्न लागि पर्ने पनि उनले बताए । ‘मनाङ र पन्जाब जुनै सुकै क्लब एएफसी कपको अघिल्लो चरणमा पुग्न सक्छ, त्यसैले यो खेललाई हामीले हल्का रुपमा लिएका छैनौँ ।’

त्यस्तै मिनर्वा पन्जावका कप्तान ओमालाजा नुरेन करिमले पनि मनाङ मस्याङदीविरुद्धको खेलमा उत्कृष्ट प्रर्दशन गर्ने बताएका छन् । उनले थपे, ‘हामी भारतको तथा मनाङ ‘ए’ डिभिजन लिग च्याम्पियन हो, त्यसैले खेलको नजिता जे पनि हुन सक्छ ।’ 

समूह ‘इ’ मा रहेको मनाङ मस्याङ्दी अन्तिम स्थानमा छ । मनाङको ३ खेलबाट मात्र १ अंक छ । मिनर्जाको भने ३ खेलबाट ३ अंक जोड्दै समूहको तेस्रो स्थानमा छ । 

तस्वीर : एन्फा

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 34 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?