तत्कालीन एमालेको पार्टी कार्यालय बल्खुबाट एकताको काम टुंग्याउने नेकपाको तयारी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले तत्कालीन एमालेको पार्टी कार्यालय बल्खुबाट एकताको बाँकी काम टुंग्याउने तयारी शुरु गरेको छ । 

नेकपाले जेठ ३ गते पार्टी एकता टुंग्याउने गरी तयारी शुरु भएको हो । जेठ ३ गते नेकपा एकताको एक वर्ष पुग्दैछ । 

प्रधानमन्त्री ओली आज साँझ स्वदेश फर्कदै छन् । ६ दिने औपचारिक भ्रमण पूरा गरेर प्रधानमन्त्री आज साँझ ६ः३० बजे कम्बोडियाबाट काठमाडौं ओर्लिदै छन् । गत वैशाख २६ गते भियतनाम प्रस्थान गरेका ओली सोमवार कम्बोडिया भ्रमणका लागि पुगेका थिए । 

प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडिया भ्रमणबाट फर्केपछि सचिवालयको बैठक बस्ने भएको छ । 

बैठकपछि एकताका बाँकी कामको घोषणा तत्कालीन एमालेको पुरानो पार्टी कार्यालय बल्खुबाट हुने नेकपाले जनाएको छ । साथै मदन भण्डारीको शालिकमा माल्यार्पण गरी नेताहरुको कार्यविभाजन गरिने पनि नेकपाले जनाएको छ । 

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडिया भ्रमणमा भएका बेला नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकताका काम टुंग्याउन सक्रिय बनेका छन् । 

पार्टी एकताका काम टुंग्याउन ओलीले नै अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेललाई आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीको आग्रह अनुसार जेठ ३ मा पार्टी एकताका कामहरु टुंगो लगाउने गरी तीन नेता छलफलमा केन्द्रीत छन् । जनवर्गीय सङ्गठन, पोलिटब्युरो, केन्द्रीय सदस्यको कार्यविभाजन र केन्द्रीय विभागका प्रमुख र उपप्रमुख टुङ्ग्याउने गरी तीन नेताले छलफल गरिरहेका छन् ।

पार्टीको पोलिटब्यूरो गठन र नेताहरुको जिम्मेवारीमा सहमति जुटिसकेको छ । तर, जनवर्गीय संगठनमा पूर्णतया सहमति जुटे सकेको छैन । 

मुख्य विवाद रहेका जनवर्गीय सङ्गठनमध्ये युवा, महिला र पत्रकार पूर्वमाओवादी र विद्यार्थी, मजदुर र बुद्धिजीवी सङ्गठन पूर्वएमालेले दिने सहमति भएको छ भने अन्य जनवर्गीय सङ्गठनमा छलफल चलिरहेको छ ।

पोलिटब्युरो गठन, केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजन, केन्द्रीय आयोगहरूको गठन, केन्द्रीय सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चको गठन, राष्ट्रिय परिषद्मा मनोनयन, प्रदेश स्तरीय विशेष कमिटीको गठन, जनवर्गीय सङ्गठनहरुको एकीकरण, प्रवासका सङ्गठन र सम्पर्क कमिटी एवं मञ्चहरुको एकीकरण र केन्द्रीय विभागहरुको गठन हुने नेकपाले जनाएको छ ।

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 29 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?