आफ्नो विश्व रेकर्ड आफैँले तोडे : आरोही कामीरिता

काठमाडौं । साहसिक आरोही कामीरिता शेर्पाले २३ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । 

सोलुखुम्बु थामेका शेर्पाले आज ‘बुधवार’ बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३ औँ पटक पाइला टेकेको आधार शिविरबाट पर्यटन विभाग पर्वतारोहण शाखाका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी दिए ।

लामो समयदेखि आरोहण क्षेत्रमा रहेका ४९ वर्षीय शेर्पाले आफूले कायम गरेको विश्व रेकर्ड आफैँले तोड्दै नयाँ विश्व कीर्तिमान कायम गर्न सफल भएका हुन् । कामीरिता शेर्पा र ओङ्दी शेर्पाले सेभेन समिट्स ट्रेक्समार्फत आरोहण गरेका हुन् ।

कम्पनीका टासी लाक्पा शेर्पाले यो राष्ट्रकै गौरवको कुरा भएको बताए । सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका कामीरिताले आरोहणअघि सञ्चारकर्मीसँग कुरा गर्दै २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने बताएका थिए ।

बौद्ध धर्मअनुसार एक महिनाअघिदेखि गुम्बामा पूजापाठ गरी आरोहणमा गएका शेर्पाले आरोहण कठिन हुने भए पनि आफूलाई सामान्य लाग्ने बताए । 

यसअघि २१ पटक सगरमाथा चढि सकेका आप्पा शेर्पा र फुर्वातासी शेर्पाले आरोहणबाट सन्यास लिइ सकेका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?