प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री सेनद्वारा १५ बुँदे संयुक्त वक्तव्य जारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री हु सेनबीच द्वीपक्षीय वार्ता भएको छ । 

गत वैशाख २६ गते भियतनाम पुगेका प्रधानमन्त्री ओली भियतनामबाट वैशाख ३० गते कम्बोडिया पुगेका थिए ।

दुई देशको ६ दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली आज (बुधवार) साँझ ६ः३० मा स्वदेश फर्किदै छन् । 

यही क्रममा दुई देशका प्रधानमन्त्रीको १५ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन् । 

प्रधानमन्त्री ओलीले कम्बोडियाको भ्रमणका क्रममा त्यहाँका कार्यवाहक राष्ट्र प्रमुख तथा सिनेटका अध्यक्ष साम्देक भिवोल सेन र राष्ट्रियसभाका अध्यक्ष साम्देक अक्का मोहासँग समेत शिष्टाचार भेटवार्ता गरेका छन् । 

त्यसअघि प्रधानमन्त्री ओली र त्यहाँका समकक्षी हु सेनबीच द्वीपक्षीय वार्ता भएको थियो ।

जारी गरिएको संयुक्त वक्तव्यमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ भएको उल्लखे छ । 

दुवै देशका प्रधानमन्त्री व्यापार, लगानी, पर्यटन, सांस्कृति तथा शिक्षाका क्षेत्रमा हुने साझेदारीलाई अगाडि बढाउने विषयमा छलफल गरेका थिए । 

वार्तामा कम्बोडियाका प्रधानमन्त्री सेनले नेपालको ऐतिहासिक राजनीतिक परिवर्तन र नेपालको मौलिक शान्ति प्रक्रियाको चर्चा गरेको थिए । 

उनले नेपाल सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा पूरा हुनेमा विश्वास व्यक्त गरेको संयुक्त वक्तव्यमा उल्लेख छ ।

‘दुवै प्रधानमन्त्री दुई देशबीचको साझेदारी र सम्बन्धलाई मजबुद बनाउनका लागि नियमित रुपमा उच्चस्तरी भ्रमणको आवश्यकता भएको भन्दै यसअघि दुई देशका परराष्ट्र मन्त्रालयबीच सहमति भएको परामर्श संयन्त्रको बैठकलाई शीघ्र अगाडि बढाउन सहमति भएको छ,’ वक्तव्यमा उल्लेख छ ।

द्वीपक्षीय भेटवार्ता पछि दुई देशबीच व्यापार तथा लगानी सम्बन्धी फ्रेमवर्क एग्रिमेन्टमा हस्ताक्षर भएको थियो ।

त्यस्तै भेटवार्तामा दुई देशबीच गत वर्ष कम्बोडियाका प्रधानमन्त्रीको नेपाल भ्रमणको क्रममा भएको हवाई सेवा सम्झौताको समीक्षा गर्दै दुवै देशका नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई यसको कार्यान्वयनका लागि प्रकृया अगाडि बढाउन निर्देशन दिइएको वक्तव्यमा उल्लेख छ । 

त्यस्तै दुवै देशका प्रधानमन्त्री संयुक्तमा सांस्कृति तथा प्राकृतिक सम्पदाहरुको संरक्षण र पर्यटन आदान प्रदानमा सहमत भएका छन् ।

साथै गत वर्ष नै दुई देशबीच भएको सांस्कृतिक साझेदारी सम्बन्धी समझदारीको कार्यान्वयनमा जोड दिइएको छ ।

प्रधनमन्त्री ओलीले प्रधानमन्त्री हु सेनलाई पुनः नेपाल भ्रमणको निम्तो दिएका थिए ।  कम्बोडियाका प्रधानमन्त्री सेनले प्रधानमन्त्री ओलीको निम्तोलाई स्वीकार गरेको वक्तव्यमा उल्लेख छ ।

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 29 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?