पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी हुँदै

   काठमाडौँ–यही जेठ ४ गतेदेखि ८ गतेसम्म नुवाकोटको रानीपौवा बजारमा पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी २०७६ हुने भएको छ ।

पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले आज पत्रकार सम्मेलनको आयोजना गरी नुवाकोट, रसुवा, काठमाडौँ र धादिङका स्थानीहरुले उत्पादन गरेका कृषि सामग्री प्रदर्शनीमा राखिने जानकारी गराएको छ ।
 
    चालिसवटा व्यापारिक कक्ष प्रदर्शनीमा राखिने छ भने रु दुई करोडको आर्थिक कारोवार हुने अनुमान आयोजकको रहेको छ । मेलामा मुख्यगरी कृषि समूह सूचीकरण खेतीतर्फ कफी, चिया, आलु, सखरखण्ड, बदाम, ग्राउन्ड एप्पल, स्टोबेरी, किबी, एभोकार्डो, बन्दा काँक्रो भेन्टा सिमीलगायतका सामग्री राखिने छ । पशुपछीतर्फ ट्राउडमाछा, बँदेल, सुँगुर, बङ्गुर, बाख्रा, बोका, खसी, भैँसी, राँगोलगायत राखिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

    प्रतिष्ठानका कोषाध्यक्ष रुद्र ढुङ्गेलका अनुसार कृषि क्षेत्रको यथार्थ अवस्था बाहिर ल्याउन, सरकारलाई योजना र बजेट तय गर्नका लागि सहयोग होस् भनी र देशलाई अघि बढाउनका लागि कृषि क्षेत्र महत्वपूर्ण पक्ष हो भनेर जानकारी दिन कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । मेलामा सहभागीमध्ये उत्कृष्ट हुनेलाई रु १० लाख पुरस्कारको व्यवस्थासमेत आयोजक संस्थाले गरेको छ ।

    मेलामा सहभागी चार जिल्लामा उत्पादन हुने कृषिजन्य सामग्रीका बारेमा जानकारीसँगै कुन माटो र हावापानीसँग कस्तो किसिमको खेती गर्ने भन्नेबारे पनि जानकारी लिन सकिनेछ । तत्कालीन नेकपा(माओवादी)का नेता बोगटीको विसं २०७१ भदौ ३० गते हृदयाघातका कारण निधन भएको थियो ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?