बुधबार १९ मङ्सिर, २०७५ Sunday, 26 May, 2019

मोति झै टिलिक्क ‘अन्नपूर्ण हिमाल’ (फोटोसहित)

‘विदेशीको तुलनामा आन्तरिक पर्यटकको संख्या बढ्दो’

काठमाडौं । ‘एडभेन्चरस’ खेल खेल्न होस् वा हिमालको सफल आरोहण गर्न, अहिलेकोे युवापुस्ताको यो ‘ड्रिम’ नै बनेको छ ।

पर्यटकीय शहर पोखरा, घान्द्रुक, घलेगाँउ, मनाङ, मुस्ताङदेखि रारा, तिलिचो, सो-फोक्सुन्डो तालसम्मको यात्रा तय नगर्ने अहिले कमै मात्रामा भेटिन्छन् । त्यति मात्र नभएर अहिलेका युवापुस्ताहरु हिमालको सफल आरोहण गर्न पनि सफल भइसकेका छन् । अहिले नेपालमा घुम्न आउने विदेशी पर्यटक भन्दा आन्तरिक पर्यटकको संख्या उल्लेख्य छ । 


ADVERTISEMENT

‘घुम्न जाउँ, घुम्न जाउँ, घुम्न नगरकोट’, यो गीत हुनै समय नेपाली सांगितिक बजारमा निक्कै चर्चित थियो । यो गितले भने झै 'घुम्न जाउँ' भने पनि नेपालीहरु कमैले मात्र आफ्नो जन्मभुमिको भ्रमण गरे भन्दा फरक नपर्ला । तर, अहिले जमाना परिवर्तन भएको छ ।

अहिलेका युवा पुस्ताहरु भन्छन्, ‘पहिले आफ्नै देशको शुन्दर ठाउँहरु घुम्ने, त्यसपछि मात्र विदेश यात्रामा निस्कने ।’ 

नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउने तयारी गरिरहेका बेला आन्तरिक पर्यटकहरुको संख्या दिनानुदिन बढ्दो छ । 

घान्द्रुक घुम्न काठमाडौंदेखि आएका फेसन डिजाइनर विश्व गौतमका अनुसार अहिलेको युवापुस्ता आफ्नै गाँउ-ठाँउ घुम्न लालायित भएको बताए ।

उनले भने, ‘मैले कामको शिलशिला अमेरिका, अस्ट्रेलियादेखि लिएर युरोप टुर गरिसकेको छु, करिब २० देशको भ्रमण पनि गरे, तर मैले आफ्नै देशमा पनि यति राम्रो शुन्दर ठाउँ छन् भन्ने बिर्सेछु, अब म पहिले आफ्नै देशको सबै ठाउँ घुम्छु, त्यसपछि मात्र विदेश यात्रामा निस्कने छु ।’

साथै उनले जातिय संस्कृति झल्किने भेषभुषा र गाउँले शैलीमा पकाइने खानेकुराले जहिल्यै मन लोभ्याइ रहने समेत बताए । 

‘विदेशी पर्यटकहरु भनेको घुम्नैको लागि मात्र आउने हो, तर हामीहरुले पनि आन्तरिक पर्यटक भएर देशको आर्थिक स्तरलाई उकास्न केही हदसम्म भने सहयोग गर्न सक्छौँ’, गौतमले लोकपथलाई बताए । 

त्यस्तै विदेशी पर्यटकहरुसहित अन्नपूर्ण वेसक्याम्पमा भेटिएकी महिला ट्रेकिङ गाइडर प्रिसिला तामाङले सबैलाई एक पटक आफ्नै देशभित्र रहेको शुन्दर ठाउँहरु घुम्न आग्रह समेत गरिन् । 

उनी भन्छिन्, ‘नेपाल विदेशीहरुको लागि मात्र घुम्ने ठाउँ हैन, हामीहरुको झन आफ्नै देश हो, तर नेपालीहरुमा विदेशीहरुको जस्तो खासै घुम्ने चलन अहिले पनि बसिसकेको छैन, पछिल्लो समयमा भने युवापुस्तामा पहिले आफ्नै देश घुमौ भन्ने मानसिकता बढेको पाइन्छ ।’

त्यस्तै बैंकिङ क्षेत्रमा कार्यरत दिपेश शर्माले पहिलो पटक घान्द्रुक घुम्दा निक्कै रमाइलो लागेको बताए । उनले  भने, ‘पोखरा धेरै पटक घुम्न आए, तर पोखरादेखि अरु ठाउँ खासै घुम्न गएको छैन, पहिलो पटक घान्द्रुकमा पुग्दा स्वर्णमा पुगे जस्तो आभास भयो ।’ 

साथै उनले नेपाल सरकारले पर्यटकीय क्षेत्रको पहिचान गरेर आन्तरिक तथा बाह्य पर्यटनलाई बढाउन सके देशको आर्थिक अर्थतन्त्रले पनि मुहार फेर्ने लोकपथलाई जानकारी दिए । 

‘पोखरादेखि नयाँपुलसम्म सजिल्लै सवारी साधनमा पुग्न सकिन्छ, नयाँपुलदेखि घान्द्रुकसम्म पुग्न ४ घण्टाको पैदलयात्रा गर्न कठिन भएपनि रमाइलो छ, धुलो धुवाबाट आजित भएका हामी यहाँ आइपुग्दा स्वच्छ हावा खाँदै, गुरुङहरुको कला, संस्कृति, भेषभुषाले मनै लोभ्याउँछ’, शर्माले थपे । 

काठमाडौंदेखि अन्नपूर्ण वेसक्याम्पसम्मको यात्रा 

नयाँपुलको बाटो हुँदै फुनहिल, घान्द्रुक र एबिसी ‘अन्नपूर्ण बेस क्याम्प’सम्मको यात्रा तय गर्न सक्छन् । घान्द्रुकबाट अन्नपूर्णको दक्षिण साइटको हिमाल देखिन्छन् भने घोरोपानी, फुनहिलबाट हिलुचली, धौलागिरी, टुकुचे, निलगिरी र अन्नपूर्ण हिमाल देखिन्छन् । 

नयाँपुलदेखि अन्नपूर्ण बेसक्याम्पसम्म पुग्न ५ दिन समय लाग्छ । लगातार पाँच दिनको पदयात्रा पछि अन्नपूर्ण वेसक्याम्पमा चारैतिर हिरा जस्तै टल्किने हिमालमा पुग्न सकिन्छ । 
अर्का ट्रेकिङ गाइडर जीत गुरुङका अनुसार अन्नपूर्ण वेसक्याम्प जानेमा नेपाली भन्दा धेरै विदेशी पर्यटक रहेको बताए ।

उनले भने, ‘पछिल्लो समयमा अन्नपूर्ण वेस क्याम्पमा जाने नेपालीहरुको संख्या पनि बढ्दो छ, तर, नेपालीहरु अफ सिजनमा मात्र जान्छन्, सिजनको समयमा होटलहरु नपाइने भएकै कारण नेपालीहरु जाँदैनन् ।’

साथै उनले अहिले अन्नपूर्ण वेस क्याम्पमा ४ वटा होटलहरु सञ्चालनमा रहेको पनि लोकपथलाई जानकारी दिए । ‘विदेशीहरु अन्नपूर्ण वेस क्याम्पमा आएपछि केहीले अन्नपूर्ण ‘वान’को आरोहण गर्छन, कोहीले सनराइज ‘सर्योदय’ र आइसफल हेरेर फर्कन्छन्, काठमाठौंदेखि अन्नपूर्ण वेस क्याम्पसम्म जान १० दिनको समय लाग्छ ।’, गुरुङले थपे । 

अन्नपूर्ण हिमालय नेपालको उत्तर-मध्य पर्छ । यसमा रहेको एक हिमालयको उँचाई ८ हजार मिटर छ । अन्नपूर्ण प्रथम हिमाल विश्वको दशौँ अग्लो र नेपालको नवौँ अग्लो हिमालमा पर्छ । यो हिमालको उँचाई ८ हजार ९१ मिटर रहेको छ ।

अन्नपूर्ण हिमाल आरोहणको लागि विश्वकै सबैभन्दा खतरनाक हिमालको रुपमा पनि लिइन्छ । सन् २०१४ अक्टोबरमा हिमआँधी र हिमपहिरो आउँदा अन्नपूर्ण हिमाल आरोहण गर्न गएका ३९ जनाको मृत्यु भएको थियो । 

तस्वीर : प्रिसिला तामाङ

गोविन्द गुरुङ

गोबिन्द गुरुङ विगत एक दशकदेखि खेलकुद पत्रकारितामा क्रियाशिल छन् । लोकपथका लागी खेलकुद र समसामयिक विषयमा लेख्छन् ।   

Leave a comment