गैरकानूनी निर्देशन किन दिए उद्योग मन्त्री यादवले ?

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयले राजदुतावास र अदालतमा शेयर खरिदबिक्रीको अभिलेख राख्न भनी दिएको निर्देशन गैरकानूनी भएको बताइएको छ । 

वाणिज्यमन्त्री मातृकाप्रसाद यादवले राजदुतावास र अदालतमा शेयर खरिदबिक्रीको अभिलेख राख्न भनी दिएको निर्देशन गैरकानूनी भएको मन्त्रालयकै अधिकारीहरुले बताएका हुन् ।

बिहीवार संसदीय समितिमा उद्योग सचिव यामकुमारी खतिवडा र कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार भुवनहरि अर्यालले मन्त्री यादवको सो निर्देशन गैरकानूनी भएको बताए ।

मन्त्री यादवले आफ्नो निजी सचिवालयमार्फत गत असार २७ गते कम्पनी रजिष्ट्रारको कार्यालयलाई शेयरको अभिलेख राख्ने व्यवस्था अदालत र राजदुताबासहरुमा पनि गर्न निर्देशनसहितको पत्र कम्पनी रजिष्ट्रारको कार्यालयलाई पठाएका थिए । 

तर, सो पत्र कानून सम्मत नभएको दाबी गर्दै खारेजको माग गरिएको छ । 

राष्ट्रियसभाको प्रायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सो पत्र खारेज गर्न माग गर्दै उजुरी परेको थियो । 

उक्त उजुरीबारे छलफल गर्न बसेको बैठकमा उद्योगमन्त्री यादवले दिएको निर्देशन कम्पनी ऐनमा व्यवस्था नभएको कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार अर्यालले बताए । 

तर, यसरी निर्देशन दिन मिल्ने व्यवस्था नभए पनि मन्त्रीले असल मनसायले सुशासन ऐनअनुसार निर्देशन दिएको उद्योग सचिव खतिवडा बताउँछिन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?