काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज (आइतवार) नेकपा सचिवालय बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजेपछि बस्ने नेकपाले जनाएको छ ।
तात्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको एक वर्ष पूरा भएपनि एकीकरणका सम्पूर्ण काम नसकिएपछि नेकपाले बैठकलाई तीव्रता दिएको हो ।
गत बिहीवार बसेको सचिवालय बैठकले २१ वटा भ्रातृ संगठनको नेतृत्व टुंगो लागाइएको थियो भने पोलिटब्यूरो सदस्यको भने टुंगो लागेको थिएन ।
त्यस्तै आज बस्ने बैठकमा पोलिटब्युरो गठन, नेताहरुको जिम्मेवारी बाँडफाँट, सल्लाहकार परिषद् तथा विभिन्न आयोग गठन लगायत विषयमा छलफल हुने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।
त्यस्तै बैठकमा केन्द्रीय कमिटी र स्थायी समितिलाई पनि सक्रिय बनाउनबारे छलफल गर्ने तयारी भएको सचिवालयले जनाएको छ । साथै आगामी आर्थिक वर्षको बजेटबारे समेत छलफल हुँदैछ ।
यसैगरी सत्तारुढ दल नेकपाले जेठ मसान्त भित्र एकीकरणका बाँकी सबै काम सम्पन्न गर्ने र गाउँगाउँसम्म एकताको सन्देश पुर्याउन प्रचारात्मक अभियान थाल्ने तयारी गरेको छ ।
उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि एक महिने जागरण अभियानलाई जारी राखेको छ । गत वैशाख २५ गतेबाट ७७ वटै जिल्लामा कांग्रेसले जागरण अभियान शुरु गरेको थियो ।
कांग्रेसको पहिलो चरणको एक महिने जागरण यही जेठ २५ गते सकिदै छ । त्यसलगत्तै नेकपाले गाउँगाउँसम्म एकताको सन्देश पुर्याउन प्रचारात्मक अभियान थाल्ने तयारी गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया