नेपाली फुटबलका मुख्य प्रशिक्षकलाई ६ प्रश्न : नेपालले किन गोल गर्नै सक्दैन ?(भिडियो अन्तर्वार्ता)

अहिले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक स्वीडिस नागरिक योहान कालिन हुन् । उनलाई वि सं २०७५ को माघ अन्तिमतिर २ वर्षका लागि नेपाली फुटबलका मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरिएको हो । नेपाली फुटबल टोलीलाई प्रशिक्षण दिएको यो उनको पहिलो अनुभव भने होइन यसअघि पनि उनले मच्छिन्द्र फुटबल क्लबमा प्रशिक्षकका रुपमा काम गरिसकेका छन् । अहिले राष्ट्रिय टोलीको जिम्मेवारी आफ्नो काँधमा आएपछिको उनको अनुभव, नेपाली टोलीको वर्तमान अवस्था र सम्भावनाका बारेमा केन्द्रित रहेर लोकपथ संवाददाता प्रेरणा तिमल्सिनाले उनलाई गरेका ६ प्रश्न र उनका उत्तरको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :

नेपालमा प्रशिक्षकका रुपमा काम गरिरहँदा तपाईंलाई कस्तो अनुभव भइरहेको छ ? 

प्रशिक्षकका रुपमा काम गर्न पाउँदा निकै खुसी छु । यसलाई मैले चुनौतीका रुपमा लिएको छु । नेपाली टिम निकै क्षमतावान छ तर, हामीले ट्रेनिङलाई बढी भन्दा बढी समय दिन जरुरी छ जस्तो मलाई लाग्छ । 

नेपाली फुटबल टोलीलाई कसरी परिभाषित गर्नुहुन्छ ?

नेपाली खेलाडी निकै मिहिनेती छन्, ट्रेनिङका दौरान निकै राम्रो व्यवहार गर्छन् । तर, यूरोपको तुलनामा यहाँ प्रशिक्षणलाई निकै कम समय दिइन्छ । यूरोपका खेलाडीहरुलाई यहाँभन्दा दोब्बर ट्रेनिङ गराइन्छ । खेलाडीहरुसँग मेरो केही गुनासो छैन । उनीहरु सिक्नलाई सधैं तत्पर देखिन्छन् । ग्राउन्डमा अनुशासित भएर खेल्छन् ।

प्रशिक्षणका दौरान भाषाको समस्या कतिको हुन्छ ?

खेलाडी र म दुवैका लागि यो एउटा चुनौती हो किनभने अङ्ग्रेजी हामी दुवै पक्षको राष्ट्रिय भाषा होइन । त्यसैले कहिलेकाहीँ केही बुझाउन खोज्दा म ठीक शब्द नै पाइरहेको हुन्न तर, सहायक प्रशिक्षक नेपाली हुनुहुन्छ त्यसैले  मलाई आफ्नो कुरा बुझाउन केही सहज हुन्छ । कतिपय अवस्थामा त मैले भन्न खोजेका कुराहरु खेलाडीहरुले नै एक अर्कालाई बुझाइरहेका हुन्छन् । भाषाको समस्या त हुन्छ तर यो त्यति ठूलो चुनौती होइन । अन्य चुनौतीसँग यसलाई पनि पार गरौंला । 

प्रशिक्षकले खेलाडीको खेल मात्र नभएर उनीहरुको व्यवहार पनि बुझ्न जरुरी हुन्छ भनिन्छ, खेलाडीसँग यहाँको कतिको राम्रो सम्बन्ध छ ? 

तपाईंले सही भन्नुभयो । एउटा प्रशिक्षकले उसको खेलाडीका बारेमा जान्न, बुझ्न जरुरी छ किनभने उसको व्यवहारअनुसार नै उसलाई प्रेरित गर्ने, सिकाउने ग¥यो भने खेलाडीले चाँडो सिक्छ र खेल्नमा रुचि बनिरहन्छ तर त्यस्तो सम्बन्ध बनाउन केही समय लाग्छ । मैले उनीहरुसँग त्यति समय बिताउन पाएकै छैन । म विश्वस्त छु आगामी दिनमा हामीबीच राम्रो सम्बन्ध कायम हुनेछ ।

नेपालले राम्रो खेल खेलेपनि गोल गर्न सक्दैन भनिन्छ, नेपाली टिमको कमजोरी के हो ?

ट्रेनिङ शुरु भएको धेरै समय नभएकाले मैले अझै पनि राम्रोसँग मूल्याङ्कन गर्न सकेको छैन । फुटबल ‘टिम वर्क’ मा निर्भर खेल भएकाले गोल नगर्नुमा स्ट्राइकरको मात्र गल्ती हुँदैन । डिफेन्स, स्ट्राइकर, मिड फिल्डर सबैको भूमिका उत्तिकै हुन्छ । त्यसैले स्ट्राइकरले गोल गर्न नसक्नु भनेको पूरै टिमको खेलमा काहीँ न काहीँ कमजोरी हुनु हो ।

मेरो प्रशिक्षणमा म डिफेन्समा अझै सुधार गर्ने प्रयास गर्ने छु । मेरो बुझाइ के हो भने, हामीसँग बल हुँदा ११ जना आक्रमक भएर खेल्नुपर्छ र विपक्षीसँग बल हुँदा ११ जनै डिफेन्सिभ भएर खेल्नुपर्छ । हाम्रो खेलाडीहरुमा एकतावद्ध भएर डिफेन्स गर्ने क्षमता अलि नभएको हो कि जस्तो लाग्छ । खेलको शुरुवातदेखि नै आक्रामक भएर खेल्नुहुन्न भन्ने मेरो धारणा हो । हामीलाई जिताउने भनेको गोल सङ्ख्याले हो तर, बल नभइ आक्रामक हुन सकिन्न र गोल पाउनलाई डिफेन्सिभ हुनैपर्छ । 

हरेक प्रशिक्षकको आफ्नो टिमलाई लिएर केही लक्ष्य हुन्छ । यहाँको लक्ष्य के हो ?

लक्ष्य निर्धारण गर्नु भनेको सधैं गाह्रो काम हो । फेरि फुटबल यस्तो खेल हो जहाँ कसैको कन्ट्रोल हुँदैन । हाम्रो विपक्षी टिमले अप्रत्यासित रुपमा कहिलेकाहीँ हामीभन्दा निकै राम्रो खेल खेल्न सक्छ । 
त्यसैले मेरो मूख्य लक्ष्य भनेको नेपाली टिमलाई बलियो बनाउने हो र हाम्रो खेललाई सुधार्ने हो । त्यसको लागि हामीलाई संघको मद्दत चाहिन्छ ताकि कुनै समस्या पर्दा हामी संघमा निर्भर हुन सकौं । 
अहिले नै हामी वल्र्ड कपमा पुग्छौं अथवा भारतलाई ५–० को अन्तरमा हराउँछौं जस्तो महत्वकांक्षी प्रतिवद्धता गर्न सक्दिन तर, अबको दिनमा नेपालको खेल बलियो हुनेछ । फिफाको वरियतामा हाम्रो स्थान उकासिने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?