बुलबुलेमा ‘सूर्यमुखी’ आर्कषण

सुर्खेत । बुलबुले ताल नजिक ढकमक्क बारीमा फुलेको पहेँलो फुल वरिपरि हरियाली छ । 

छेउमै तालमा डुङ्गा सयर गरिरहेको । त्यहाँ पुग्ने जो कोहीको तस्वीर नलिइकन फर्कन मान्दैनन् । बुलबुले ताल हेर्न जानेको तस्वीर खिचाउनको लागि भीडभाड देखिन्छ आजभोलि । 

तस्वीर खिच्नेको लाइनमा कोही आफ्नो सेल्फी खिच्दै, कोही अरु साथीहरुको तस्वीर खिचिदिँदै । कोही पहेँलै फुलेका फुलको दृश्य अवलोकन गर्दै ।  

यो दृश्य हो सुर्खेतको बुलबुले उद्यान नजिक रहेको सूर्यमुखी खेती गरिएको एक बारीको । चारजना युवा मिलेर व्यावसायिक रुपमा सूर्यमुखीको खेती गरेको यो बारी अहिले आन्तरिक र बाह्य पर्यटकको लागि आकर्षण बन्ने गरेको छ ।

पछिल्लो समय सामाजिक सञ्जालसँगै मनोरञ्जनात्मक भिडियो बनाइने ‘टिकटक’मा यो बारीको दृश्य धेरै नै प्रयोग हुँदै आएको छ ।

‘दिनमा १ सय ५० भन्दा धेरै यहाँ आउँछन्, शनिवार ३ सय जति पुग्छ ।’ उक्त सूर्यमुखी खेती गरेकामध्ये कपिल अधिकारीले भने, ‘हाम्रो बुलबुले नजिकै भएकाले त्यहाँ आउने यहाँ अनिवार्य आउनुहुन्छ ।’ स्थानीय कपिल अधिकारी, लक्ष्मी अधिकारी, धनिराम अधिकारी र सज्ज ढकाल मिलेर छ कट्ठा जमीनमा व्यावसायिक रुपमा सूर्यमुखीको खेती गरेका छन् । 

वार्षिक एक लाख ४० हजार भाडामा जग्गा लिएर गरिएको फूल खेतीमा दुई लाखभन्दा धेरै लगानी लागेको सज्जन ढकालले बताए । सूर्यमुखीको बारीमा फोटो खिचाउन आउने मानिसले प्रतिव्यक्ति १० तिर्नुपर्छ ।

यसरी दैनिक १ सय ५० मात्र आए पनि न्यूनतम एक हजार ५ सय आम्दानी हुन्छ । ‘मानिस टिकटको भिडियो बनाउनेदेखि फोटो खिच्नेसम्म यो बारीभित्र पस्ने गर्छन्’, उनले भने, ‘त्यसबेला धेरै बोट भाँचिन्छन् । हामीले घाटा व्यहोर्नुपर्छ । यसकारण प्रतिव्यक्ति १० लिने गरेका हौँ ।’

यो पहिलो अनुभव भएकाले अहिलेको खेती सिकाइका रुपमा मात्र आफूहरुले लिएको उनको भनाइ छ । अहिलेको अवस्थालाई मध्यनजर गर्दै आगामी दिनमा सूर्यमुखीको खेतीमा वृद्धि गर्ने योजना रहेको ढकालको भनाई छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?