कामीरिताले बनाए नयाँ विश्व कीर्तिमान, २४ औँ पटक सगरमाथाको आरोहण

काठमाडौं । आरोही कामीरिता शेर्पाले सगरमाथाको २४ औँ पटक सफल आरोहण गर्दै नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । 

शेर्पाले यसअघिको आफ्नै २३ औँ पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका हुन् । कामीरितालो आज ‘मंगलवार’ बिहान ६ः३८ बजे सगरमाथाको २४ औँ पटक आरोहण गरेको सगरमाथाको आधार शिविरमा रहनुभएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । 

यसअघि आरोही शेर्पाले जेठ १ गते सगरमाथाको २३औँ पटक आरोहण गरेका थिए । उनी सात दिनको अवधिमै पुनः सगरमाथाको आरोहण गर्न सफल भएका हुन् । यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण गत वैशाख ३१ गते शुरु भएको थियो ।

सोलुखुम्बुको थामेगाउँमा जन्मेका ४९ वर्षीय कामीरिताले आगामी वर्ष २५ औँ पटक सगरमाथा आरोहण गरेर सन्न्यास लिने यसअघि नै बताएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?