गण्डकी प्रदेशसँग साझेदारीका लागि पाँच योजना छनोट

दमौली । लगानी साझेदारी गर्ने गरी गण्डकी प्रदेश सरकारले ल्याएको योजनाअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकाले पाँच योजना छनोट गरेको छ । 

६० प्रतिशत प्रदेश र ४० प्रतिशत स्थानीय तहले लगानी गर्ने गरी बजेट छुट्याइएका साझेदारी योजनाका लागि शुक्लागण्डकीले विभिन्न पाँच योजना छनोट गरेको हो । 

सोमबार बसेको नगर कार्यपालिकाको बैठकले एक करोडदेखि तीन करोडसम्मका पाँच योजना छनोट गरी पठाएको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए ।

उनका अनुसार छनोट गरी पठाइएका योजनामा फोहरमैला सङ्कलन केन्द्र, बसपार्क निर्माण, वडा नं १ र २ जोड्ने गुबेखोलामा पक्की पुल, वडा नं ६ स्थित तीन खोलेदेवी मन्दिर जाने कुम्ले खोलाको पक्की पुल र वडा नं ८ र ९ जोड्ने सुरौदी खोलामा पक्की पुल रहेका छन् ।

यसैगरी बैठकले जेठ १२ गतेदेखि आर्थिक वर्ष २०७६÷७७ का लागि वार्षिक योजना तथा बजेट तर्जुमा शुरु गर्ने भएको छ । असार ५ गतेसम्म विभिन्न समितिको बैठक, टोल तथा वडा भेला गर्ने निर्णय भएको छ ।

असार ९ गते नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्ने र २३ गते नगरसभा हुनेछ । बैठकले यहाँका सबै सामुदायिक विद्यालयको व्यवस्थापन समिति भङ्ग गरेर नयाँ समिति गठन गर्ने निर्णय समेत गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?