६० वर्षपछि औद्योगिक क्षेत्र स्थापना गर्दै सरकार, कहाँ कहाँ बन्दैछ ?

सरकारले देशका विभिन्न पाँच नयाँ ठाउँमा औद्योगिक क्षेत्र स्थापना गर्ने भएको छ । २० वर्षभित्र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने रणनीति अघि सारेको सरकारले प्रादेशिक सन्तुलन कायम गर्न सबै प्रदेशमा एक एक वटा औद्योगिक क्षेत्र स्थापना गर्ने लागेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सर्लाहीमा मूर्तियार औद्योगिक क्षेत्र, तनहुँमा सिन्टुटार औद्योगिक क्षेत्र, दाङमा लक्ष्मीपुर औद्योगिक क्षेत्र स्थापना गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रस्ताव पठाउन लागेको छ ।

मन्त्रालयले कैलालीको लम्की र दैलेखको डुंंगेश्वर औद्योगिक क्षेत्र स्थापना गर्ने प्रस्ताव तयार पारेको छ ।

मन्त्रिपरिषद्ले उक्त प्रस्ताव पारित गरेपछि औद्योगिक क्षेत्र घोषणा गरिने मन्त्रालयको तयारी छ ।

यसका साथै सरकारले मध्यपहाडी लोकमार्गमा पर्ने १० शहरमा पनि औद्योगिक ग्राम स्थापनाका लागि अध्ययन गरिरहेको छ । सरकारले ६० वर्षपछि औद्योगिक क्षेत्र स्थापना प्रक्रिया औपचारिक रूपमा अगाडि बढाएको हो ।

२०१६ सालमा बालाजु औद्योगिक क्षेत्र स्थापनायता हाल मुलुकमा ११ वटा औद्योगिक क्षेत्र सञ्चालनमा छन् । 

नयाँ औद्योगिक क्षेत्र निर्माणसँगै सरकारले काठमाडौं उपत्यकामा सञ्चालित औद्योगिक क्षेत्रलाई उपत्यकाबाहिर सार्ने घोषणा गरेको थियो । तर यो योजना अघि सारेको दुई वर्ष बितिसक्दा पनि योजना अघि बढ्न सकेको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?