बागलुङ र पर्वत जोड्ने  झोलुङ्गे पुल निर्माण

बागलुङ । बागलुङको दक्षिण जैमिनी र पर्वतको फलेवास जोड्ने गरी कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण गरिएको छ ।

व्यापारका लागि बागलुङको दक्षिण भेगवासीको बढी आउजाउ हुने फलेवास क्षेत्रलाई जोड्ने गरी पुल निर्माण गरिएको हो । फलेवास नगरपालिका–४ देवीस्थान र जैमिनी नगरपालिका–५ बिनामार मिरिङ्गे जोड्ने गरी ३ सय १८ मिटर लामो पुल निर्माण सम्पन्न गरिएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँका इञ्जिनीयर सागरराम नेपालले जानकारी दिए । 

एक करोड ५२ लाख ५५ हजार लागतमा डेढ वर्ष अगाडि निर्माण शुरु गरिएको उक्त पुल तोकिएको समयमै सम्पन्न भएको ठेकेदार कम्पनी सिभाको/विएलटी जेभीका सञ्चालक तीर्खाराम खड्काले जानकारी दिए । 

पुल निर्माणपछि पर्वतको व्यापारिक केन्द्र फलेवास बजार र राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरलाई जोडिएको छ । बागलुङको दक्षिण जैमिनी तथा बरेङ गाउँपालिकाका धेरै गाउँको प्रमुख व्यापारिक केन्द्र फलेवास भएकाले त्यहाँसम्म पुग्नका लागि स्थानीयवासीलाई सहज भएको बिनामारेका स्थानीयवासी विजय पौडेलले बताए । 

जैमिनी क्षेत्र तथा फलेवास क्षेत्र नगदेवाली तथा फलफूल खेतीको पकेट क्षेत्र भएकाले त्यसको बजारीकरणमा समेत पुलले राम्रो प्रभाव पार्ने स्थानीयको विश्वास छ ।

‘बागलुङका जैदी, छिस्ती र बिनामारे तथा पर्वतको देवीस्थान, मुडीकुवा, कर्घालगायतका क्षेत्र फलफूल एवं तरकारीको बीउ उत्पादनका लागि प्रख्यात भएकाले त्यहाँको उत्पादनलाई बजारसम्म ल्याउन पुलले ठूलो महत्व दिन्छ’ स्थानीयवासी पौडेलले भने । 

बागलुङ र पर्वतलाई जोड्ने लामो झुलुङ्गे पुलमा विनामारे–फलेवास दोस्रो हो । यसअघि कुश्मा–बलेवा जोड्ने झुलुङ्गे पुल निर्माण भएको थियो भने नेपालकै लामो पाङ अदुवाबारी हुँदै बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने ‘५६७ मिटर’ पुल निर्माणाधीन छ ।

निर्माण सम्पन्न भएको उक्त पुलमा एकै पटक ६ सय देखि ७ सय मानिस धान्ने क्षमता रहेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?