जेठ २३ गतेदेखि उप–प्रमुख महिला क्रिकेट शुरु हुने, ११ टिम सहभागी

वैतडी । जिल्लामा उप–प्रमुख कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । 

दशरथचन्द नगरपालिकामा यही जेठ २३ गतेदेखि दोस्रो संस्करणको उपमेयर कप शुरु हुनेछ । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

प्रतियोगिताको विजेताले ३० हजार तथा उप–विजेतालाई २५ हजार पुरस्कार प्रदान गरिने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए । म्यान अफ द सिरिजलाई ५ हजार दिइनेछ । निङ्गलाशैनी खेल मैदान देहिमाण्डौमा सञ्चालन हुने उक्त प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ वटै वडाको टोली सहभागी हुनेछ । 

उप–प्रमुख कपबाट महिला खेलाडी उत्पादनमा सहयोग पुग्नुका साथै क्रिकेटको विकासमा टेवा पुग्ने दशरथचन्द नगरपालिकाका उप–प्रमुख मिना चन्दले बताए । गत वर्ष नगरपालिकाले उप–मेयर कपको पहिला संस्करण आयोजना गरेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?