पाँचथर सामूहिक हत्या प्रकरण : मानबहादुर मोखिमको आत्महत्या मिल्ला प्रहरीलाई क्लू ?

पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा भएको नौजनाको सामूहिक हत्या प्रकरण पारिवारिक विवादका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ । 

अनुसन्धानले संदिग्ध व्यक्तिको रुपमा देखाएका मानबहादुर मोखिमको शव मिक्लाजुङ–८, लुमाङ्दिनमा झुण्डिएको अवस्थामा भेटिएपछि प्रहरीको अनुसन्धान यता पनि मोडिएको छ ।

घटनामा भागेर ज्यान जोगाएकी बालिकाले नकाबधारीले मध्यरातमा ढोका खोलेर हत्या गरेको बताएका थिए । 

अनुसन्धानमा लागेको पष््रहरीका अनुसार  रुखमा झुण्डिएको अवस्थामा भेटिएका मानबहादुर मोखिम मृतक फियाक परिवारका ज्वाइँ हुन् । 

अधिकृतहरुका अनुसार मोखिमको ससुराली परिवारसँग राम्रो सम्बन्ध थिएन । 

‘श्रीमतीले पछिल्लो समय उनीसँग सम्बन्ध विच्छेद गर्न चाहेकी थिइन्’, स्थानीयको भनाई उदृद गर्दै अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने । 

घटनामा बाँच्न सफल १२ वर्षीया बालिका सीता खजुमको बयानका आधारमा प्रहरीले तयार पारेको हुलिया पनि मोखिमकै थियो ।

 

जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रमुख डीएसपी नरेन्द्र कुँवरले पनि घटनामा एक जनाको मात्रै संलग्नता हुनसक्ने देखिएको बताए ।

 

गएराति भएको घटनामा दुई घरका गरी ९ जनाको हत्या भएको थियो । हत्या हुनेमा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।

 

त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको थियो ।

 

घटनाको अनुसन्धानका लागि हाल काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोली पनि त्यसतर्फ गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?