सिरिया । गृहयुद्धमा होमिएको सिरियाको उत्तरपश्चिमी प्रान्त इडलिबमा गत अप्रिल २५ देखि हालसम्म एक सय ६७ जनाको हत्या भएको छ ।
इडलिब प्रान्तमा करिब ३० लाखको बसोबास छ । गत आइतवार मात्र पनि रुसको नेतृत्वमा सिरियाली सैनिकले गरेको हवाई आक्रमणमा कम्तीका पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको छ ।
हवाई आक्रमणका कारण पाँच बालबालिकाको ज्यान गएको बेलायतआवद्ध मानवअधिकार समूह सिरियाली अब्जरभेटरी फर ह्युम्यान राइट्सले पनि पुष्टी गरेको छ । रुसले इड्लिबमा युद्धविराम भएको घोषणा गरेको केही समयपछि गत आइतवार पुनः हवाई आक्रमण भएको थियो ।
इडलिब प्रान्तको कफ्रान्बेल शहरको एक अस्पतालनजिक रुसको नेतृत्वमा हवाई आक्रमण भएको अब्जरभेटरीले जानकारी दिएको छ ।
सिरियामा सन् २०११ को मार्चमा सरकारको विरोध गर्दै शुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । यस गृहयुद्धमा अल–कायदा र इस्लामिक स्टेट्सजस्ता आतङ्ककारी समूह हाबी हुँदै गएका छन् ।
सिरियामा जारी द्वन्द्वका कारण सन् २०११ देखि हालसम्म तीन लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । लाखौँको सङ्ख्यामा घाइते भएका छन् भने अरु बीसौं लाख मानिस सिरियाभित्र र छिमेकी राष्ट्रमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया