सरकारले ६ वटा विधेयक प्रक्रियामा लैजाँदै

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सरकारले आज (बुधवार) ७ वटा विधेयक थप प्रक्रियामा लैजाँदैछ । 

आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा सरकारले अघिल्लो अधिवेशनमा प्रस्तुत गरेको तीनसहित ७ वटा विधेयक थप प्रक्रियामा लैजान लागेको हो । 

समय अभावका कारण तेस्रो अधिवेशनबाट पारित हुन नसकेका जेष्ठ नागरिक पहिलो संशोधन, नागरिक लगानी कोष दोस्रो संशोधन र विज्ञापन नियमन गर्ने विधेयक चौंथो अधिवेशनको १३ औं बैठकबाट आज अघि बढ्न लागेको हो ।

बैठकमा सम्बन्धित मन्त्रीहरुले ती विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय सचिवालयले जनाएको छ ।

यस्तै, सरकारले गत सोमवार टेबुल गरेका थप चार वटा विधेयक पनि प्रक्रियामा लैजाने छ ।

प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन, गृहमन्त्री रामबहादुर थापाले प्रहरी समायोजन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन तथा औद्योगिक व्यवसाय विधेयक टेबुल गरेका थिए । 

ती चारै वटा विधेयकमा सम्बन्धित मन्त्रीले आजको बैठकमा विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । 

सबै विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ । सरकारले

हिजो मात्र वन विधेयक, वातावरण संरक्षण विधेयक र भूमि सम्बन्धी आठौँ संशोधन विधेयकमाथिको प्रक्रिया अगाडि बढाएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?