जो अपराधै नगरी जेलमा पुगे, त्यसपछि यसरी फेरियो जीवन

काठमाडौं । अपराधशास्त्रमा एउटा सिद्धान्त छ, बरु सय अपराधी छुटुन् तर एउटा निरपराधीले सजाय भोग्न नपरोस् । नेपालमा पनि प्रायजसो कारागारको अगाडी यस्तो लेखिएको छ । तर वास्तविकता त्यस्तो हुँदैन । अपराध नगरी जेल सजाय भोगेका कैयौं व्यक्तिका उदाहरण वग्रेल्ती छन् नेपाली समाजमा । तिनै उदाहरणमध्येका एक हुन् विवेक उपाध्याय ।

हरेक अपराधी कारागार पुग्दैनन् र कारागारमा पुगेका हरेक व्यक्ति अपराधी हुँदैनन् भन्ने कुरा विवेकलाई उनको जीवन र अनुभवले सिकायो । जेलमा ४६ वटा अन्धकार रात गुजारीसकेपछि उनको जीवनमा सुनौलो बिहानी आयो । अहिले उनी जेलको व्यवस्थापन र कैदीको हकअधिकारका निमित्त काम गर्छन् ।

आफू जेलबाट निस्किएपछि उनले अर्काले गरेको अपराधमा मुछिएर जेल पुगेका, सानो रकम तिर्न नसकेर त्यहीँ बसेका करिब १ सय ५० जना कैदीहरुलाई नयाँ जीवन दिइसकेका छन् ।

त्यसो त एक सफल व्यवसायीबाट एकाएक अपराधीको कालो धब्बा आफ्नो नाममा लागेपछिको केही समय निकै कष्टकर रह्यो उनका लागि । घरबाट भाग्ने, आत्महत्या गर्ने जस्ता नकारात्मक सोच विवेकलाई घच्घचाउन आइरहन्थे । तर, भन्छन् नि हरेक नराम्रो समयको राम्रो पक्ष यही हो कि त्यो अवश्य बितेर जान्छ । सानासाना अपराधमा वर्षौंदेखि जेलजीवन काटिरहेका व्यक्तिलाई उनीहरुको परिवारसँग पुनर्मिलन गराइदिन पाउँदा त्यो कालो समय पनि अर्थपूर्ण लाग्छ विवेकलाई आजभोलि ।

जेलमा नराम्रो मान्छे हुँदैनन्, नराम्रो काम गरेका मान्छे हुन्छन् जसले दोस्रो मौका पाउनैपर्छ भन्ने विवेकको मान्यता हो । यही मान्यतालाई टिकाइराख्न उनले ‘हिड्न लाइफ फाउन्डेसन’ नामक संस्थाबाट कैयौं ‘हिडन लाइफ’लाई नयाँ जीवन दिइरहेका छन् । संस्थाले कैदीहरुलाई मुक्ति दिलाउने मात्र नभएर जेलबाट निस्किएपछि धेरैजनालाई रोजगारीको व्यवस्था समेत मिलाइदिएको छ ।

उनै विवेकको जीवन तथा भोगाइलाई ह्यासट्याग स्माइलको यस अंकमा समेट्ने कोसिस गरेका छौं । भिडियो हेर्न लिंक क्लिक गर्नुहोला :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?