म्यान्मारमा अर्को वर्ष संसदको चुनाव

एजेन्सी । म्यान्मारका राष्ट्रपति ऊ वीन मिन्टले सन् २०२० मा हुने संसदको चुनाव निष्पक्ष एवं स्वतन्त्र रुपमा सम्पन्न गर्नेगरी तयारी थाल्न आह्वान गरेका छन् ।  

निर्वाचन आयोगका पदाधिकारीसँग बुधवार भेट गर्दै राष्ट्रपति मिन्टले मतदाता सूची र निर्वाचन कार्यालयहरुको राम्रोसँग व्यवस्था गर्न तथा सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन र निर्वाचन क्षेत्रहरुको सीमा निर्धारण गर्न आग्रह गरे ।

राष्ट्रपति मिन्टले निर्वाचनसँग सम्बन्धित अपराध रोक्न तथा मतगणना उपयुक्त तरिकाबाट गरी निर्वाचन परिणाम घोषणा व्यवस्थित रुपमा गर्ने व्यवस्था मिलाउन आग्रह गरेको निर्वाचन आयोगले जनाएको छ ।

आङ सान सूकीको नेतृत्वमा रहेको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले सन् २०१५ मा भएको आमनिर्वाचनमा प्रचण्ड बहुमत ल्याएको थियो । संविधान बमोजिम एनएलडीले सन् २०१६ को अप्रिल १ देखि म्यान्मारको सत्ता सम्हालेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?