धराशायी बन्दै जडीबुटी व्यवसाय

भारत । भारतले क्वारेन्टाइनसम्बन्धी नयाँ नीति लागू गरेपछि नेपाली जडीबुटी व्यवसाय धराशायी बन्दै गएको छ ।

नेपाल सरकारले भारतसँग उच्चस्तरमा कुरा नगरिदिँदा जडीबुटी व्यवसाय नै धराशायी भएको व्यवसायीले बताएका छन् ।

भारतले बोट बिरुवा र तिनका अंशको आयातलाई व्यवस्थित गर्न विरुवा क्वारेन्टाइनसम्बन्धी आदेश २००३ जारी गरी सोको अनुसूची ७ मा सूचीकृत जडीबुटीमात्रै निर्यात गर्ने जनाएपछि नेपालबाट निकासी हुने धेरै जडीबुटी त्यो सूचीमा नपर्दा निकासी हुन नसकेको हो । 

कतिपयको सूचीमा नाम मिलेता पनि वैज्ञानिक नाम नमिल्दा समस्या उत्पन्न भएको नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष मो याकुव अन्सारीले बताए । 

नयाँ कानूनअनुसार, २६ मात्रै जडीबुटी सूचीकृत भएपछि अरु जडीबुटीको निकासी रोकिएको हो । पषाणवेद, कुरिलो, आमला, पदमचाल, चिराइतो, अमलवेद, अतिष, कालादाना र सिकाकाइलगायतका जडीबुटीको गत मङ्सिरदेखि निकासी रोकिएको छ ।

अध्यक्ष अन्सारीका अनुसार, नेपालगञ्ज नाकाबाट निकासी हुने १० अर्ब बढीको जडीबुटी बाँकेमा अलपत्र परेको छ । 

नेपालबाट करीब ८० प्रकारका जडीबुटी भारत निकासी भइरहेका थिए । बोझो, कपुर, दालचिनी, काउलो पाउण्डर, कुट्की, रीठा, टिमुरको पनि वैज्ञानिक नाम नमिल्दा निकासी रोकिएको छ । मङ्सिरदेखि नै निकासी नहुँदा करीब एक हजार ५ सय मेट्रिक टन जडीबुटी नेपालगञ्जमा थन्किएको छ ।

देशभरमा करीब १० हजार मेट्रिक टन जडीबुटी रोकिएको अध्यक्ष अन्सारीले जानकारी दिए । 

जडीबुटी व्यवसायी रवीन्द्रनाथ शुक्लाले तत्कालै निकासी हुन नसके जडीबुटी कुहिने र गुणस्तरमा ह्रास आउने बताए । उनले जडीबुटी निकासी ठप्प हुँदा सङ्कलन र बिक्री वितरणमा संलग्न करीब २५ लाख नेपाली प्रत्यक्षरुपमा प्रभावित भएका र व्यवसायीनै धराशायी हुन पुगेका उल्लेख गरे । 

भारतले ट्रान्जिट पास, नयाँ कानून लागू गरेपछि नेपालबाट जडीबुटी निकासी वर्षेनी घट्दो अवस्थामा छ । नेपालगञ्जमा रहेको नेपाल जडीबुटी व्यवसायी सङ्घको तथ्याङ्कअनुसार, आर्थिक वर्ष २०७०÷७१ मा ४७ लाख ३५ हजार ६४ किलो जडीबुटी निकासी भएको थियो ।

त्यस्तै २०७१÷७२ मा ४६ लाख नौ हजार २ सय ८७ किलो, २०७२÷७३ मा ४६ लाख ३८ हजार २ सय १५ किलो, २०७३÷७४ मा ४० लाख ५० हजार ६ सय ७४ किलो र २०७४÷७५ मा २७ लाख ५४ हजार २ सय किलो निकासी भएको उल्लेख छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?