सीआईबीको टोली घटनास्थलमा, स्थानीयसँग सोधपुछ शुरु

पाँचथर । गत सोमवार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा भएको सामूहिक हत्याको अनुसन्धान गर्न नेपाल प्रहरी केन्द्रीय अनुसन्धन ब्यूरो सीआईबीको टोली घटनास्थल पुगेको छ ।

बुधवार एसपी उमा चतुर्वेदीको नेतृत्वमा घटनास्थल पुगेको ६ जनाको टोलीले स्थलगत अवलोकन र स्थानीयसँग छलफल शुरु गरेको छ । 

एसएसपी सुरज खत्री नेतृत्वको टोलीले पनि बुधवार बिहानैदेखि स्थानीयसँग सोधपुछ गरेको छ । 

प्रहरीले हत्यामा संलग्न रहेको शंका गरिएका मानबहादुर माखिमको परिवारलगायतसँग सोधपुछ गरेको हो । 

मानबहादुर सोमवार राति हत्या गरिएका बमबहादुर फियाकका कान्छा ज्वाइँ हुन् । उनको शव घटनास्थलभन्दा करिब डेढ घण्टा पैदल दूरीमा झुन्डिएकोअवस्थामा भेटिएको थियो ।

हत्या गरिएका ९ जना र मानबहादुरको शव पोस्टमार्टमका बुधवार धरान पठाइएको थियो ।  

मानबहादुरले झुन्डिएर आत्महत्या गर्नुअघि कसैलाई टेलिफोन गरेर ‘पहिलेको बिराम बल्झेला जस्तो छ, ५ हजार रुपैयाँ सापटी पाऊँ न, उपचारका लागि जानुपर्यो’ भनेको प्रहरी नायव उपरीक्षक नरेद्र कुँवरले बताए । 

घरमा पनि दबाई किन्न जानु छ भनेर सोमवार बिहान ९ बजे घरबाट निस्किएको परिवारका सदस्यले बताए ।

उनले अरू क–कसलाई फोन गरेका थिए, त्यसको अनुसन्धान हुने कुँवरले बताए ।

‘मानबहादुरको साथमा केही रकम र मोबाइल थियो । हत्यामा प्रयोग भएको हतियार र उनले लगाएको कपडा भने उनी झुन्डिएको स्थानबाट केही टाढा थियो ।’ कुँवरे भने । 

छिमेकी हस्तराज फागोका अनुसार माइला जेठान धनराज सेर्मा र जस्मितासँग मानबहादुरको पारिवारिक विवाद थियो । बोलचाल नभएको एक वर्ष भएको थियो । उनीहरू दुवै जनाको हत्या भएको छ । मानबहादुरले बमबहादुरकी कान्छी छोरी मनकुमारीसँग प्रेम विवाह गरेका थिए ।

विवाह भएको केही समय मात्र श्रीमानसँग बसेकी मनकुमारी करिब ३ वर्षदेखि माइतमा थिइन् । उनको पनि हत्या गरिएको छ । 

उता घटनास्थलमा ५०–६० जनाको प्रहरी परिचालन गरिएको छ भने कडा सुरक्षा अपनाएको छ । 

त्यस्तै हत्या गरिएका ९ जनाको शव पोष्टमार्टपछि गाउँ ल्याइँदैछ । 

बुधवार पोस्टमार्टका लागि बीपी प्रतिष्ठान पठाइएको उनीहरुको शव आज (बिहीवार) पोष्टमार्टपछि गाउँ ल्याइँदैछ । 

बमबहादुर फियाक परिवारका ४ जनाको आरूबोटेमा मै अन्तेष्टि गरिने छ ।

बाँकी ५ जना धनराज शेर्माको परिवारलाई उनको पुख्र्यौली घर मांङजाबुङ लगिने पाँचथर प्रहरीले जनाएको छ । 

शव ल्याइसकेपछि अन्तेष्टिका लागि आफन्तलाई जिम्मा लगाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?