सन्दीप बार्बाडस ट्राइडेन्टसमा अनुबन्ध, पारिश्रमिक १४ गुणाले वृद्धि

एजेन्सी । नेपाली युवा क्रिकेटकर सन्दीप लामिछाने बार्बाडस ट्राइडेन्टसमा सर्वाधिक महँगो मुल्यमा अनुबन्ध भएका छन् । 

बुधवार राति लण्डनमा सम्पन्न भएको क्यारेबियन प्रिमियर लिग ‘सीपीएल’ क्रिकेटको ड्राफ्ट अन्तर्गत सन्दीपलाई बार्बाडस ट्राइडेन्टसले सर्बाधिक मुल्यमा क्लबमा भित्र्याएका हुन् । नेपाली लेग स्पिनर लामिछानेलाई बार्बाडसले पाँचौ राउण्डमा अनुबन्ध गरेको हो ।

उक्त स्थानमा छानिने खेलाडीले कम्तिमा ७० हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । ड्राफ्टमा कुल ५ सय ३६ खेलाडी रहेका थिए । जसमा ६ टोलीले १७-१७ खेलाडी गरि कुल १ सय २ जनालाई अनुबन्ध गरेका थिए ।

त्यस्तै तीन युवा अलराउण्डर दिपेन्द्रसिंह ऐरी, तीव्र गतिका बलर सोमपाल कामी र मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेललाई ड्राफ्टमा कुनै टोलीले अनुबन्ध गरेनन् । 

‘सीपीएल’ क्रिकेट आगामी सेप्टेम्बर ४ देखि १२ अक्टोबरसम्म वेस्ट इन्डिजमा चल्नेछ । यसअघिको अघिल्लो संस्करणको खेलमा सन्दीप उदीयमान प्रतिभा खेलाडी समेत चुनिएका थिए । गतवर्ष उनले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेल्दै ५ खेलमा ७ विकेट लिएका थिए ।

त्यतिबेला उनलाई ५ हजार अमेरिकी डलर पारिश्रमिक दिइएको थियो । एकै वर्षमा सन्दीपको पारिश्रमीकमा १४ गुणा बढेको हो । ७० हजार अमेरिकी डलर सन्दीपले अन्तर्राष्टिय फ्रेन्चाइज लिगमा प्राप्त गरेको हालसम्मकै उच्च पारिश्रमिक समेत हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?