उपेन्द्र यादव शनिवारबाट व्यस्त हुँदै, सरकारबारे निर्णय लिन सकेन समाजवादीले

काठमाडौं । पार्टी एकता भएको दुई साताभन्दा बढी वितिसक्दा पनि आन्तरिक बैठक बस्न नसक्दा समाजवादी पार्टी नेपालले सरकारबारे निर्णय लिन सकेको छैन । 

तत्कालिन संघीय समाजवादी पार्टी नेपाल र नयाँ शक्ति पार्टीबीच गत वैशाख २३ गते पार्टी एकता भएको थियो । 

पार्टी एकता भएको दुई साताभन्दा बढी भइसक्दा समेत सरकारमा बसिरहने वा छाड्ने भन्ने विषयमा पार्टीले निर्णय लिन नसकेको नेताहरुले बताएका छन् । 

एकीकरणको सन्देश दिन भन्दै समाजवादी पार्टी नेपालले जेठ ११ गते (शनिवार)बाट मुलुकका विभिन्न ८ शहरमा सभा गर्ने तयारीमा जुटेको छ । यही कारणले पनि आन्तरिक बैठक बस्न नसकेको समाजवादी पार्टीका एक नेताको भनाई छ । 

एकीकरणको सन्देश जेठ २१ गतेसम्म हुने छ । 

एकीकरण लगत्तै केन्द्रीय समिति बैठक र सभाबारे निर्णय गर्न केन्द्रीय कार्यकारिणी बैठक बसेको थियो । तर, सरकारमा पार्टीको नेतृत्व गरेका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले विगतका सहमति कार्यान्वयनका लागि सरकारलाई अल्टिमेटम दिँदै माग सम्बोधन नभए मात्र सरकार छाड्नु पर्ने पक्षमा छन् भने संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई तत्काल सरकार छाडेर संगठन लगायत काममा जुट्नु पर्ने पक्षमा छन् ।

अध्यक्ष यादव भोलिमात्र स्वदेश फर्कने बताउँदै वरिष्ठ नेता अशोक राईले शनिवारबाट २१ गतेसम्म मुलुकका विभिन्न कार्यक्रममा व्यस्त हुने भएकाले जेठ अन्तिमसम्म बैठकको सम्भावना नभएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?