सन् २०२२ को कतार विश्वकपमा ३२ राष्ट्र मात्र सहभागि हुने

एजेन्सी । सन् २०२२ मा हुने विश्व कप फुटबल प्रतियोगितामा ३२ राष्ट्रले सहभागिता जनाउने भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय ‘फिफा’ले बुधवार राति प्रेस विज्ञप्ति निकाल्दै विश्वकप उक्त कुरा सार्वजनिक गरेको हो । सन् २०२२ मा विश्वकप फुटबलको २२ औँ संस्करणको खेल आयोजना हुँदैछ ।

गत चैतमा अमेरिकामा बसेको फिफा काउन्सिलको बैठकले कतार विश्वकपमा ३२ राष्ट्रबाट बढाएर ४८ राष्ट्र बनाउने निर्णय गरेको थियो ।  बैठकले विश्वकपमा आयोजक कतारसँगै एक सहआयोजक राष्ट्र थप्ने निर्णय गरेको थियो ।

तर, फिफाले गल्फ राष्ट्रबीच पछिल्लो समय घटेको राजनीतिक द्वन्दको कारण आयोजक राष्ट्र थप्न नसकिने हुँदा ४८ देश सहभागी गराउन मुश्किल हुने निस्कर्ष निकालेको जनाएको छ ।
सन् २०२६ को विश्वकपमा भने ४८ राष्ट्र हुने यसअघि नै तय भइसकेको छ । कतारमा विश्वकप जाडो मौषममा आयोजना हुँदैछ । 

फिफाले विश्वकप जुन र जुलाई महिनामा गर्दै आएको थियो । तर, फिफाले कतार विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना गर्ने निर्णय गरिसकेको छ । जुन र जुलाईमा कतारको गर्मी अत्यधिक हुने कारण फिफाले विश्वकप जाडो मौषम गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?