२८ स्थानीय तहमा बैंकका शाखा पुग्न बाँकी

काठमाडौं । देशभर कूल  २८ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुग्न बाँकी रहेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा कूल ७ सय ५३ स्थानीय तहमध्ये ७ सय २५ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुगेका छन् । 

सरकारले आम नेपालीलाई वित्तीय पहुँच पु-याउने लक्ष्यका साथ हरेक स्थानीय तहको केन्द्रमा वाणिज्य बैंकको शाखा पु¥याउनै पर्ने बाध्यकारी व्यवस्था गरेको छ । केन्द्रीय बैंकले स्थानीय तह नै तोकेर कूल २८ वटा वाणिज्य बैंकलाई जिम्मेवारी दिएको छ । 

नेपालको संविधानले सङ्घीय, प्रदेश तथा स्थानीय सरकार गरी तीन तहको सरकारको व्यवस्था गरेको छ । स्थानीय सरकार नै जनतासँग जोडिने बलियो सरकार भएकाले पनि वित्तीय पहुँच जरुरी रहेको भन्दै धमाधम बैंकका शाखा खोल्न अभिप्रेरित गरिएको हो । 

राष्ट्र बैंकका अनुसार प्रदेश नं १ का कूल १ सय ३७ स्थानीय तहमध्ये चालू आवको नौ महीनाको अन्त्यसम्म १ सय ३४ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् ।

उक्त प्रदेशमा मात्रै तीन स्थानीय तहमा बैंकका शाखा पुग्न बाँकी छन् । प्रदेश नं २ का कूल १ सय ३६ स्थानीय तहमध्ये कूल १ सय ३४ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । सो प्रदेशका दुई स्थानीय तहमा बैैंकको शाखा पु¥याउने योजना केन्द्रीय बैंकको छ । 

राष्ट्र बैंकका अनुसार प्रदेश नं ३ का कूल १ सय १९ स्थानीय तहमध्ये १ सय १७ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् । राजधानी आसपासको यस प्रदेशमा मात्रै दुई स्थानीय तहमा बैंकको शाखा खोल्न बाँकी रहेको र चालू आर्थिक वर्षको अन्त्यसम्म नयाँ शाखा खोल्ने योजना रहेको छ । 

गण्डकी प्रदेशका कूल ८५ स्थानीय तहमध्ये ८३ स्थानीय तहमा बैंकको शाखा पुगेका छन् । मात्रै दुई स्थानीय तहमा बैंकका शाखा खुल्न बाँकी छन् । प्रदेश नं ५ को भने कूल १ सय ९ स्थानीय तह सबैमा बैंकका शाखा खुलेका छन् ।

सबै स्थानीय तहमा बैंकको शाखा पु-याएर वित्तीय पहुँचमा अग्रणी प्रदेशको रुपमा प्रदेश नं ५ स्थापित भएको छ । आर्थिक विकासको दर समेत सोही प्रदेशमा बढी रहेको छ । 

राष्ट्र बैंकका अनुसार कर्णाली प्रदेशका कूल ७९ स्थानीय तहमध्ये हालसम्म मात्रै ६७ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् । कूल १२ स्थानीय तहमा बैंकका शाखा खुल्न बाँकी छन् । भौगोलिक कठिनाइ तथा सूचना तथा सञ्चार प्रविधिको विस्तार नभएका कारण पनि बैंकको शाखा खोल्न कठिनाइ भएको पाइएको छ । 

त्यस्तै सुदूरपश्चिमका कूल ८८ स्थानीय तहमध्ये ८१ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् । मात्रै सात स्थानीय तहमा बैंकको शाखा नखुलेका भए पनि निकट भविष्यमा नै बैंकको शाखा पु¥याउने लक्ष्य राखिएको छ । 

राष्ट्र बैंकका अनुसार देशभर वाणिज्य बैंकका मात्रै तीन हजार ३०९ वटा शाखा रहेका छन् । यस्तै विकास बैंक एक हजार २ सय २४, वित्त कम्पनी २ सय ३, लघुवित्त वित्तीय संस्थाका तीन हजार ४ सय ६९ शाखा सञ्चालनमा रहेका छन् ।

सबैं बैंक तथा वित्तीय संस्थाका गरी कूल आठ हजार २ सय ५ शाखा सञ्चालनमा छन् । त्यस्तै पछिल्लो पटक पूर्वाधार विकास बैंकसमेत सञ्चालनमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?