विप्लव समूहद्वारा भोजपुर बन्द, जनजिवन प्रभावित

काठमाडौं । प्रतिबन्धीत नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहले भोजपुर बन्दको आह्वान गरेपछि जनजीवन प्रभाभित भएको छ । 

विप्लव समूहले शुक्रवार भोजपुर बन्दको आह्वान गरेको हो । 

प्रहरीको गोली लागेर घाइते भएका चन्द समूहका कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको विरोधमा शुक्रवार विप्लव समूहले भोजपुर बन्दको आह्वान गरेको हो । 

बन्दका कारण यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । सदरमुकामका शैक्षिक संस्था र पसल समेत बन्द छन् ।

सञ्चालनमा रहेका सवारी साधनलाई सुरक्षा प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशव थेवेले बताए । 

गत मंगलवार दिउँसो भोजपुर र खोटाङ्गको सिमानामा पर्ने टेम्केमैयुङ गाउँपालिका–१ मा प्रहरी र विप्लव समूहबीच भिडन्त भएको थियो । 

प्रहरीको गोली प्रहारबाट षडानन्द नगरपालिका–२ कुदाककाउलेका चन्द समूहका कार्यकर्ता घिमिरे गम्भीर घाइते भएका थिए । 

खुट्टामा गोली लागेर गम्भीर घाइते भएका घिमिरेको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?