राजपथमा मोदीको सपथग्रहण : बधाई दिन प्रधानमन्त्री ओली भारत जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दिल्लीस्थित राजपथ जाने भएका छन् । 

मे ३० गते बिहीवार अर्थात् जेठ १६ गते दिल्लीस्थित राजपथमा हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुने प्रधानमन्त्री ओली नयाँदिल्ली जान लागेका हुन् । 

गत चैत २३ गतेदेखि शुरु भएको भारतीय लोकसभा चुनावमा विजय हुँदै मोदी पुनः दोस्रो पटक भारतीय प्रधानमन्त्री बनेका हुन् । 

कुल ५ सय ४३ सिटका लागि ७ चरणमा सम्पन्न निर्वाचनको मतगणना अनुसरा बहुमतका लागि २ सय ७२ सिट चाहिनेमा भारतीय जनता पार्टी एक्लैले ३ सय ३ सिट जितेको छ ।

उसको गठबन्धनले भने जितेका सबै सिट जोड्दा ३ सय ५० भन्दामाथिको अनुमान गरिएको छ । 

यसैगरी सपथग्रहरणको एक महिनापछि मोदी नेपाल भ्रमणमा आउने भएका छन् । 

भारतीय श्रोतका अनुसार भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको जनकपुर–जयनगर रेल सेवाको उद्घाटनका लागि मोदी नेपाल आउन लागेका हुन् ।

यसअघि आफ्नो पहिलो कार्यकालमा ४ पटक नेपाल भ्रमणमा आइसकेका मोदीलाई दोस्रो कार्यकालको प्रारम्भमै सरकारी स्तरबाट नेपाल भ्रमणको निम्तो दिने तयारी भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । 

‘जनकपुरदेखि जयनगरसम्म सञ्चालन हुने रेलको उद्घाटन नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा गर्ने तयारी सहित हामी अघि बढिरहेका छौं,’ यातायात मन्त्री रघुविर महासेठले भने ।

भारतीय दूतावासमार्फत मोदीलाई पत्राचार गर्ने तयारी भइरहेको उनले बताए । 

‘नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्रीले संयुक्त रूपमा रेललाई हरियो झण्डा देखाएर उद्घाटन गर्ने तयारी छ’ मन्त्री महासेठले भने, ‘त्यसका लागि नेपाल सरकारले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत पत्राचार गर्ने मन्त्रालयले तयारी गरेको छ ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?