निजी विद्यालयलाई नेपाली नाम जुराउनै गाह्रो

काठमाडौं – नेपाली नाम नपाएर होला कि किन हो निजी विद्यालयहरूले अंग्रेजी नाममा भसक्कै साइनबोर्ड हाले । सरकारले नियमावली बनाएर नाम नेपाली बनाउन निर्देशन के दिएको थियो, अहिले तिनै विद्यालयलाई नाम जुराउनै मुस्किल भइरहेको छ ।
संसारमा चलेको कुनै नाम सम्झिनोस्, आफ्नै सहरमा वा आफ्नै समुदाय आसपास त्यस्तो विद्यालय देख्न सकिन्छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार ११ र १२ पढाइने देशभर करिब ६ हजार ५ सय निजीस्तरबाट सञ्चालित शिक्षालय छन् । यिनका ९० प्रतिशतको नाम अंग्रेजीमा छ ।
अंग्रेजी हटाई नेपालीपन झल्किने नाम राख्ने सरकारी निर्देशनपछि अहिले नाम खोज्ने र जुराउने होड चल्दै छ । केहीले नयाँ राख्दा त्यसको अगाडि दर्ता कसैले लिए/नलिएको खोज्न थालेका छन्, केही पुरानो नाम फेर्दा व्यवसायमा असर पर्ने भन्दै आलटाल गरिरहेका छन् । कतिपयलाई राम्रा नेपाली नाम जुराउनै हम्मे परेको छ । लन्डनको चर्चित व्यावसायिक फुटबल क्लबको नाम राम्रो लागेर राखेको नयाँ बानेश्वरको ‘चेल्सी इन्टरनेसनल स्कुल’ ले फेरेर ‘विद्या संस्कार स्कुल’ राखेको छ । बानेश्वरकै ‘न्यु स्राइन एकेडेमी हाईस्कुल’ ले ‘नेपाल विद्यापीठ’ बनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?