बुटवलमा भव्य प्रर्दशनी केन्द्र बन्दै, लागत खर्च एक अर्ब

काठमाडौं । बुटवलमा काठमाडौं पछिको भव्य प्रर्दशनी केन्द्र बन्ने भएको छ । 

उद्योगी व्यवसायीका संस्थाहरुले वर्षौंदेखि माग गर्दै आएको स्थायी प्रदर्शनी केन्द्र बुटवलमा बन्ने निश्चित भएको हो । शहरी विकास मन्त्रालयले रामनगरस्थित बुटवल मण्डपको ६ दशमलब ४ बिघा क्षेत्रफलमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र बनाउने भएको हो । 

एक अर्ब २ करोड रुपैयाँ लागतमा बन्न लागेको उक्त प्रदर्शनी केन्द्र काठमाडौंको भृकुटीमण्डपपछि सरकारीस्तरबाट बन्ने पहिलो हुनेछ ।

प्रदर्शनी केन्द्र निर्माणको काम बुटवल सभा हल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाइमार्फत काम हुनेछ । प्रदर्शनी केन्द्र निर्माणका ठेक्का 'गौरी पार्वती जेभी' कम्पनीले लिइसकेको आयोजना प्रमुख शिखर लामाले जानकारी दिएका छन् । 

दुई वर्ष ३ महिनाभित्रमा निर्माणको सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य रहेको छ ।  उक्त प्रदर्शनी केन्द्रमा आठ सय वटा स्टलहरु रहने छन् । प्रर्दशनी केन्द्रमा एक पटकमा १० हजार जनाले अवलोकन गर्ने सक्ने ठाउँ राखेर ८ सय वटा स्टल बनाइनेछन् ।

३६ हजार वर्गफिट क्षेत्रफललाई खुल्ला प्रदर्शनी स्थल बनाइने छ  भने सवारी साधन र हेभी इक्युपमेन्ट लगायत  प्रदर्शन गर्न सकिने छ ।

त्यस्तै आयोजना प्रमुख लामाका अनुसार प्रर्दशनी केन्द्रमा एक लाख १० हजार वर्गफिट क्षेत्रफलको बाल उद्यान, चार सय वटा चारपांग्रे र चार सय वटा मोटरसाइकल राख्न मिल्ने एक लाख २० हजार वर्गफिट क्षेत्रफलको पार्किङ क्षेत्र बनाइने बताए । 

साथै प्रदर्शनी केन्द्रमा चार सय ५० जना क्षमता र तीन सय जना क्षमताका दुईवटा सेमिनार हल, दुई हजार जना क्षमताको फुड कोर्ट र एउटा प्रशासनिक भवन बन्ने छन् ।

बुटवल मण्डपको साढे १६ बिगाहा जग्गामध्ये साढे १० बिगाहामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाइने छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?