‘बोनम्यारो’ पीडित राजु रखाललाई दुई लाख सहयोग

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ महादेवटारका १५ वर्षीय ‘बोनम्यारो’ पीडित राजु रखालमगरको उपचारका लागि देश विदेशमा रहेका नेपालीबाट सङ्कलन गरिएको रकम उनका बुबा विष्णु रखालमगरलाई हस्तान्तरण गरिएको छ।

विगत दुई वर्षदेखि  ‘बोनम्यारो’ ले काम गर्न छोडेपछि उनले  काठमाडौँको सिभिल अस्पतालमा उपचार गराइरहेका छन् । उपचारकै क्रममा भएको रकम सबै सकिएपछि सहयोगका लागि उनका बुबा विष्णु रखालमगरको आग्रहमा स्थानीयवासीले सहयोग समिति गठन गरी रकम सङ्कलन अभियान शुरु गरेका थिए ।

बनेपाको शिक्षा सदन माध्यमिक विद्यालयमा अध्यनरत राजुको अवस्था देखेर आफूहरूले  देश विदेशमा हात फैलाउँदा “अमेरिकामा रहेका नेपालीबाट  एक लाख दुई हजार ३ सय ५० सङ्कलन भएको र बाँकी रकम अन्य संस्थाबाट प्राप्त भएको सहयोग समितिका अध्यक्ष निरध्वज लामाले बताए ।

छोरा बचाउनका लागि भएको जायजेथा र घरखेत बेचेर उपचार गर्दै आइरहेको कुरा  बुबा विष्णुले बताए।

उपचारका क्रममा हालसम्म लाखौँ रकम खर्च भए पनि ‘बोनम्यारो’ नै प्रत्यारोपण गर्नुपर्ने र त्यसका लागि कसैको नमिलेको तर पछिल्लो पटक आफ्नै शरिर परीक्षण गर्दा आफ्नो ‘बोनम्यारो’ मिल्ने भएकाले यही जेठ १४ गते प्रत्यारोपण गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

“जेठ १४ गते बोनम्यारो प्रत्यारोपण गर्ने तयारी भइरहेको र खर्च धेरै लाग्ने भएकाले पिर परिहेको अवस्थामा गरिएको सहयोगले आफ्ना लागि ठूलो राहत मिलेको छ”  विष्णुले  भने।

प्रत्यारोपणका लागि लागि अझै रू १८ लाखसम्म खर्च लाग्ने सिभिल अस्पतालले जानाएको जानकारी दिँदै उनले ‘बोनम्यारो’ त मिल्यो तर खर्च अपुग भएकाले सहयोगीसँग अझै हात फैलाउनु परेको छ भनेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?